काठमाडौं, मंसिर १२ /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।
शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले नामावली प्रस्ताव गर्ने तयारी गरिएको बताइएको छ । ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् ।
यद्यपि, अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसालले भने ओलीलाई नाम सिफारिसको अधिकार दिएकोमा आपत्ति जनाएका छन् । निर्वाचन छाडेर व्यक्तिलाई पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी दिँदा ‘लोकतन्त्रकै चीरहरण’ हुने उनीहरुको तर्क छ । अधिकांश प्रतिनिधिले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावमा ताली बजाउँदा रावल र भुसालले आपत्ति जनाएका थिए ।

Facebook Comments Box