पुरा भयो सूर्योदय महोत्सवको तयारी , मुख्यमन्त्री द्धारा उद्घाटन हुने , सहजताका लागी कल सेन्टरको समेत ब्यबस्था,

दमक / सूर्योदय नगरपालिकामा आयोजना भएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न मंसिर १४ देखि १८ गतेसम्म लाग्ने पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

महोत्सव सफल पार्न उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा मातहतका विभिन्न उपसिमितहरू क्रियाशील छन् । स्वागतद्वार निर्माण, स्टलहरूको निर्माण, होटल व्यवस्थापन, खानेपानीको व्यवस्थापन, प्रचारप्रसार लगायतका काम तीव्ररूपमा भइरहेको उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन् ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जि्लिङ, सिक्किम लगायतबाट समेत पर्यटकहरू आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको छ । धेरैवटा पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ ।             

कन्याममा चियाबारीको सौन्दर्य सँगसँगै चिसो मौसम र वरिपरिको हरियालीको दृश्यावलोकन गर्न तराई तथा अन्य जिल्लाका र भारतीय पर्यटकहरू आउँछन् । यहाँ दिनहुँ पर्यटकको घुइँचो लाग्ने भएकाले घोडचडी, सांस्कृतिक पहिरन लगाएर तस्विर खिचाउने, सांस्कृतिक खानेकुरा खुवाउने जस्ता व्यवसायसगैँ सयौँ चिया र खाजा पसलहरूको व्यवसाय पनि फस्टाएको छ ।

अन्तुमा पनि पर्यटकको बाक्लो उपस्थितिले त्यहाँका स्थानीय बासिन्दाले घरघरमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । अहिले अन्तुमा दर्ता भएका र नयाँ गरी ५६ वटा घरमा होमस्टे सञ्चालन भइरहेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताए । ती होमस्टेहरूमा पर्यटकलाई स्थानीय परिकार खुवाउने गरिएको उनको भनाइ छ । अघिल्लो दिन अन्तु पुगेका पर्यटक रातमा होमस्टेमा बसेर बिहान अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्न पुग्छन् ।         

त्यसपछि अन्तुडाँडाबाट देखिने भारतीय बजारहरू सिलिगुडी, खर्साङ, मिरिक लगायत नेपालका विभिन्न भागको रमणीय अवलोकनसँगै रमणीय चियाबारीको बीचमा अवस्थित अन्तु पोखरी पुगेर डुङ्गा सयर गर्छन् । डुङ्गा सयरसँगै अन्तुका रमणीय स्थलहरू घुमेर दोस्रो दिन पर्यटकहरू फर्किने गरेका छन् ।

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गा्िनक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।

चियाको राजधानीसमेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारी अर्गा्निक चियाको स्वाद पर्यटकलाई चखाउने कार्यक्रम रहेको छ । त्यस्तै घोडा सवारी, फोटो प्रदर्शनी तथा ब्युटिफिकेसनको कार्यक्रम हुनेछन् । श्रीअन्तुमा सूर्योदयको दृश्यावलोकन, फिक्कलमा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, मौलिक र अर्गा्निक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, थुम्केमा लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन गर्न पाइन्छ ।

महोत्सवको पहिलो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उदघाट्न गरिनेछ । महोत्सवको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । पर्यटकहरूलाई खाना र बस्नका लागि नगरभरीका होटल, रेस्टुरेन्ट, होमस्टेमा व्यवस्थापन गरिएको छ । नगरपालिकाले तथ्यांक संकलन गरी पर्यटकको व्यवस्थापनको सहजताका लागि तयारी भइरहेको नगरप्रमुख रण बहादुर राईले बताए । महोत्सवका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगर एक प्रमुख हो । सूर्योदय प्रदेश सरकारले घोषणा गरेको प्रदेश–१ को एक मात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरू यसै नगरमा पर्दछन् । यो नगर ७ ‘अ’ को नगरका (अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दूध)) रूपमा परिचितसमेत छ ।

पर्यटकलाई सहजताका लागि कल सेन्टर स्थापना
यस्तै महोत्सवमा आउने पर्यटकहरूको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरूलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस् भनी टोल–फ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । कल सेन्टरको उद्घाटन १३ मंसिरमा हुनेछ ।

‘नगरपालिकामा कल सेन्टरको व्यवस्था गरिसकेका छौँ । ट्रोल–फ्रि सञ्चालन गरिसकेका छौँ । सबै होटल, होमस्टेहरूको केन्द्रीकृत सूचना दिने गरी नगरपालिकाले व्यवस्था गर्नेछ’ नगरप्रमुख राईले भने, ‘कोही पनि महोत्सवमा आएर अप्ठयारो नपरून् भन्ने हेतुले यस्तो व्यवस्था मिलाएका हौँ ।

राजधानि दैनिकको समाचारमा आधारीत रहेर

बिहिबार, १२ मंसिर, २०७६, दिउँसोको १२:०१ बजे

सम्बन्धित खवर