अलैंचीको विरुवा बिक्री नहुँदा बगानमै हुर्कियो, किसान निरास

माघ १६, तेह्रथुम/ कालो सुनले निक्कै परिचित छ अलैंची । केही वर्ष अघिसम्म राम्रो मूल्य पाएका अलैंची किसानहरुले मुख्य आम्दानीको श्रोतको रुपमा लिएका थिए । अन्नबाली मासेर खेतीयोग्य जमिनमा समेत यही खेतीको बिस्तारमा हौसिएका थिए । पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैंची राम्रो उत्पादन हुँदै आएको छ । अलैंचीले मूल्य पाउँदा किसानलाई विरुवा पाउन समेत मुस्किल थियो । अलैंचीबाट राम्रो आम्दानी हुने भएपछि तेह्रथुम लालीगुराँस नगरपालिका–९ का टेकबहादुर केप्छाकी मगरले विरुवा उत्पादनलाई रोजे ।

गाउँमै व्यावसायिक रुपमा अलैंची उत्पादन गर्ने सोचका साथ मगरले अलैंची विरुवा उत्पादनलाई रोजेका हुन् । उनले सुरुमा १२ हजार रुपैयाँ किलो अलैंचीको बियाँ २० किलो खरिद गरी नर्सरी सुरुवात गरे । ५ लाख रुपैयाँमा सुरु गरेका मगरले अलैंचीका विरुवा उत्पादनमा मात्रै ६० लाख रुपैयाँ खर्च गरे । गुणस्तरीय विरुवा उत्पादनसँगै किसानको मागअनुसार विरुवा उत्पादन गर्ने लक्ष्यका साथ अलैंचीको विरुवा उत्पादन गरेका थिए । आफ्नै २० रोपनी र भाडामा जग्गा लिएर उनले सुरुवात गरेको विरुवा उत्पादन सुरुका दिनहरुमा राम्रै बजार पायो ।
अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि विरुवा बिक्रीमा समस्या हुन थाल्यो । करिब ४ लाख विरुवा उत्पादन गरेका मगरको विरुवा बगानमै हुर्किन थालेका छन् । अलैंचीको विरुवा बिक्रीबाट आम्दानी लिने उद्देश्यका साथ सुरु गरेका मगरको सपना पूरा हुन सकेन । उनी भन्छन्, “अलैंचीको विरुवा बिक्रीबाट लगानी उठ्छ भन्ने आस मरीसक्यो ।” ६० लाख लगानीमा १० लाख रुपैयाँ मात्र आम्दानी लिएको उनी बताउँछन् । अलैंचीको विरुवा उत्पादनबाट निराश बनेका मगर अरु व्यवसाय रोज्ने सोचमा रहेका छन् । अग्र्यानिक रुपमा विरुवा उत्पादन सुरु गरेका मगरले बजार नपाएकै कारण निराश बनेका हुन् । अलैंचीको स्वच्छ विरुवा उत्पादनका लागि उन्नती परियोजनाले ५० प्रतिशत साझेदारीमा १५ लाख अनुदान दिएको थियो ।
यहाँ उत्पादन भएको विरुवा जिल्ला तथा प्रदेश १ का विभिन्न क्षेत्रमा बिक्री हुँदै आएको छ । उनको बगानमा जिर्मले, रामशाही, गोलशाही, गोलशाहीलगायतका विरुवा उत्पादन गरेका छन् । मगर एक पात्र मात्रै हुन । उनी जस्ता कयौं किसान उत्पादन गरेको विरुवा बिक्री नभएपछि निरास बनेका छन् । नगदेबालीको रुपमा किसानहरुले रोजेको अलैंची खेती मूल्यमा गिरावट आएपछि विरुवा बिक्रीमा समस्या आएको हो ।
अलैंचीको विरुवा ७ रुपैयाँको दरले बिक्री हुने गरेको छ । ओसिलो तथा भिरालो जमिनमा यो खेती उर्पयुक्त मानिन्छ । उत्पादन भएको वस्तु बिक्रीका लागि भरपर्दाे बजार नहुँदा किसानहरु पलायन हुन बाध्य बन्दै आएका छन् ।

शुक्रबार, १६ माघ, २०७७, दिउँसोको ०१:२२ बजे

सम्बन्धित खवर