मातातीर्थ औंसीको महत्व

   रञ्जिता गीरी पोखरेल
आमा शब्द आफैंमा पवित्र छ । आमा शब्द उच्चारण गर्दा उच्च सम्मान र न्यानोपनको आभास हुने गर्छ । एउटा भनाइ नै छ, ‘धनले सबथोक किन्न पाइन्छ तर आमाको माया र न्यानो छहारी किन्न पाइँदैन’ । जतिसुकै धनाढ्य व्यक्ति पनि आमाको माया र आशीर्वादबिना अपूर्ण र गरिब नै हुन्छ । अझै विशेष गरी हामी नारीहरूको जीवनमा आमाको यति धेरै हुन्छ महत्व कि जति नै शब्दमा बयान गरे पनि कम नै हुन्छ । दुःख होस् या सुख, आफ्नो मनमा लागेका कुरा सबै पोख्ने भनेको हामीले आफ्नी आमासँगै हो । त्यसैले होला, जीवनको पहिलो शिक्षक र साथी भनेकै आमा हुन् र सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । त्यसैले शास्त्रमा पनि आमालाई पिताभन्दा धेरै माथिको ओहदोमा राखिएको छ भने संसारको सबैभन्दा पवित्र नाता र सम्बोधन आमा भनेर उल्लेख गरिएको छ । त्यसैले हामी सबैको जीवनमा आमाको महत्व र स्थान विशेष हुने गर्छ ।
आमाले नै हामीलाई कैयौं पीडा सहेर, नौ महिना गर्भमा राखी जन्म दिएर पालनपोषण गरी परिपक्व बनाई सही बाटो र गन्तव्यको मार्गदर्शनसमेत गर्ने गर्छिन् । त्यसैले होला, शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । किनकि प्रेम सबैले गर्छन् तर निःस्वार्थ प्रेम र गहिरो प्रेमको औचित्य केवल आमालाई मात्र थाहा हुन्छ । त्यसैले होला, भगवान्ले पनि आमालाई अत्यधिक सहनशील बनाएको ! त्यसैले सम्पूर्ण आमाप्रति मातातीर्थ औंसीको शुभकामना व्यक्त गर्न चाहन्छु र धन्यवाद सबै आमाहरूलाई, जसले हामीलाई यति राम्रो संसारमा रमाउने अवसर दिनुभयो ।
यस वर्ष आमाको मुख हेर्ने दिन वैशाख १७ गते शनिबार परेको छ । बिदाको दिन परेकाले सबैले आनन्दले आफ्नी आमाको सेवा र रमाइलो गरेर दिन बिताउन पाउनुहुनेछ । यस दिन आमा नहुनेहरूले स्नान गरी गोकर्ण र मातातीर्थ मन्दिर गई श्राद्ध गर्ने तथा दानपुण्यको कार्य गरी आमाको मुक्तिका लागि कामना गर्ने गर्छन् । त्यसैले उक्त दिन प्रायः सबै मन्दिरमा दानपुण्य कार्य गर्ने मानिसहरूको भीड हुने गर्छ । त्यस्तै आमा हुनेहरूले पनि मातातीर्थ मन्दिरमा आफ्नो आमालाई सँगै लिएर मन्दिरको दर्शन गरेमा अत्यधिक पुण्य कमाइन्छ भन्ने मान्यता छ ।
आमाको मुख हेर्ने दिन प्रायः धेरै देशमा अलग–अलग दिनमा मनाइने गरिन्छ । अन्य दिन परेको भए हामी चेलीहरूलाई, जो अन्य पेसामा कार्यरत हुनुहुन्छ, बिदा लिन पर्ने र कार्यव्यस्तताको कारणले भ्याइनभ्याइ हुन्थ्यो । शनिबार परेकाले आफ्नी आमालाई फुर्सदले मीठो–मीठो परिकार पकाएर खुवाउन सकिनेछ भने घुमघाम गर्न पनि सकिन्छ । विगतका वर्षहरूमा कोरोनाको कारणले आमासमक्ष जान नपाएर प्रायः सबै जना घरमै बसेर पर्व मनाएका थियौं । तर, यस वर्ष भने त्यस्तो त्रास छैन । त्यसैले सबैको यस वर्षको योजना भनेको आफ्ना आमालाई उपहार दिने, खानेकुराहरू खुवाएर, आमाबाट आशीर्वाद लिएर रमाइलो गर्ने होला । त्यस दिन सबैले आमालाई उपहार दिने हँुदा यसले राष्ट्रको आर्थिक स्तरमा पनि निकै ठूलो योगदान पु-याउने गर्छ ।
अहिले बजारभरि औंसीका लागि विशेष छुट भन्दै सामानहरूको बजारीकरण गरिएको देख्न सकिन्छ, जसले व्यक्तिको मात्र आर्थिक स्तरको विकास नभई राष्ट्रको राजस्वमा नै वृद्धि हुने गर्छ । अहिले सामाजिक सञ्जालभरि नै आ–आफ्नो उत्पादन तथा सामग्रीको बजारीकरण गर्ने गरिन्छ । कसैले फोटो राख्छन् भने कसैले भिडियोहरू राख्ने गर्छन् । त्यसमाथि अहिले अनलाइन व्यवसाय यति धेरै फस्टाएको छ कि विदेशमा बसेका नानीबाबुहरूले समेत आफ्ना आमालाई अनलाइनमार्फत उपहार किनेर पठाउने गर्छन् ।

शुक्रबार, १६ बैशाख, २०७९, साँझको ०५:०९ बजे

सम्बन्धित खवर