प्रदेश १ धानमा आत्मनिर्भर बन्ने प्रयास, तीन लाख मेट्रिकटनभन्दा बढी उत्पादन

  दिनेश दंगाल

दमक, १५ असार /    प्रदेश १ धानमा आत्मनिर्भर रहेको छ । यो प्रदेश आत्मनिर्भर मात्र होइन, वार्षिक तीन लाख मेट्रिक टन अन्य प्रदेशलाई पनि पठाउँछ । यो प्रदेशलाई करिब १० लाख मेट्रिक टन धान भए पुग्छ जब कि यसको उत्पादन १३ लाख मेट्रिक टनभन्दा बढी छ । यो प्रदेशका तराईका तीन जिल्लाको तीन लाख ४० हजार हेक्टर क्षेत्रफललाई धान खेतीयोग्य मानिन्छ ।
तीन लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अनुकूल मौसम, उन्नत बीउ तथा मल, सिँचाइयोग्य जमिनको सहज प्रबन्धका कारण बर्सेनि उत्पादकत्व भने बढ्दै गएको छ । प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पछिल्लो १० वर्षमा धान खेतीयोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । यद्यपि अनुकूल मौसमका कारण गत वर्ष समयमै धान रोपिएका कारण २०७६/७७ को तुलनामा २०७७/७८ मा दुई हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।
उहाँका अनुसार पछिल्लो १० वर्षमा धान प्रतिहेक्टर तीन मेट्रिक टनबाट चार मेट्रिक टन उत्पादकत्वमा वृद्धि भएको छ । रोग कीराको प्रकोप नहुँदा र समयमै वर्षात् भएका कारण आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा धानको उत्पादन वृद्धि भएको हो ।
प्रदेश १ मा गत वर्ष १३ लाख ११ हजार २४५.१४७ मेट्रिक टन र अघिल्लो वर्ष ११ लाख ९८ हजार ७४०.५० मेट्रिक धन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष धानको उत्पादकत्व ३.७४ प्रतिहेक्टर रहेको थियो भने गत वर्ष ३.९४ प्रतिहेक्टर देखिएको छ । यो वर्षसमेत मौसम अनुकूल रहेका कारण असार १४ गतेसम्म ६१ हजार ५४१ हेक्टर क्षेत्रफल अर्थात् १८ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

 झापामा कति ?
गत वर्षको तुलनामा झापामा धान उत्पादन घटेको छ । धानकालागि सुपरजोन मानिएको झापामा धान उत्पादन घटेको हो ।  समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा धान उत्पादन घटेको हो । तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषी ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत निलकमल शिहले जानकारी दिए । झापामा असार १५ देख नै धान रोपाई हुने गरेको थियो। ढिलो तर पर्याप्त पानी परेकाले खेतियोग्य जमिन बाँझो नरहे पनि धान उत्पादन केही घटेको उनले बताए । जिल्लामा ८४,८७५ हेक्टर क्षेत्रमा विभिन्न जातका धानको खेती भएको थियो। केन्द्रका अनुसार जिल्लामा ३,८१,९३७.५ मेट्रिकटन धान उत्पादन भएको छ ।  जिल्लामा प्रतिहेक्टर ४.५ मेट्रिकटन धान उत्पादन भएको  थियो ।

 

मङ्गलबार, १५ असार, २०७८, बिहानको ०९:२४ बजे

सम्बन्धित खवर