सूर्यमुखी सहकारीको कारोबार २६ करोड ३७ लाख

    दमक/  झापाको दमक–५ स्थित सूर्यमुखी वचत तथा ऋण सहकारी संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन गरेको छ । स्थानीय मारवाडी सेवा समितिको हलमा सम्पन्न सो साधारण सभामा वितरित प्रतिवेदनका अनुसार गत आवमा २६ करोड ३७ लाख ८२ हजार ३०२ रुपैयाँको कारोबार भएको जनाइएको छ ।

त्यस्तै प्रतिवेदनमा हाल ९९४ शेयर सदस्य रहेको सो संस्थाको शेयर पुँजी १ करोड ८६ लाख १९ हजार २ सय, बचत १५ करोड ७ लाख ४६ हजार ६४१ रुपैया र ऋण लगानी २१ करोड ५७ लाख ५१ हजार ४०१ रुपैयाँ रहेको उल्लेख छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार कोइरालाले विश्वभरि आएको आर्थिक मन्दीको अवस्थामा सूर्यमुखीले चालू आवमा ल्याएको वचत योजना, कोषमा वृद्धि तथा संस्थाको दिगोपनका लागि जग्गा खरीद गरेर आफ्नै भवन बनाउन लागेको कुरा संस्थाको सबल पक्ष रहेको बताए । तर हाल देशका विभिन्न भागमा केही ठूला सहकारी संस्थाहरु समेत डुबेर संचालकहरु भाग्नुपर्ने अवस्था आएकोमा त्यसप्रति शेयर सदस्य र संचालहरु चनाखो हुनुपर्ने तर्फ उनले सजग गराए । कार्यक्रमका विशेष अतिथि दमक–५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङले सहकारी संस्थाहरु कसरी चलिरहेका छन् भनेर जान्नका लागि र शेयर सदस्यहरुको वचत रकम डुब्न नदिनका लागि नियमित अनुगमन र नियमनको आवश्यकता रहेको औंल्याए । विगतमा त्यसो गर्दा दमकका केही सहकारी संस्थाहरुको अवस्था दयनीय पाएको पनि उनले स्मरण गराए ।
कार्यक्रममा प्रदेश सहकारी संघका लेखा तथा सुरपरिवेक्षण समितिका संयोजक खोम प्रसाद बगाले, कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणि भण्डारी, युनिक साकोसका अध्यक्ष केवलीराम आचार्य, राष्ट्रिय सहकारी बैंक दमककी शाखा प्रबन्धक मुना केसी, फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्देम्बे र दमक बहुमुखी क्याम्पसकी पूर्वप्राध्यापक राधिका ओझाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा डा. वेदनिधि खतिवडाको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष चूडामणि ओझाले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक चूडामणि न्यौपानेले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष कुल बहादुर खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा व्यवस्थापक गोकुल न्यौपानेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा दुई जना ज्येष्ठसहित उत्कृष्ट कारोबारकर्ता ३३ जनालाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

 

सोमबार, १३ भदौ, २०७९, साँझको ०५:०० बजे

सम्बन्धित खवर