गोल्डेनगेट सहकारीको साधारण सभा सम्पन्न, बार्षिक कारोबारको प्रतिवेदन समेत अनुमोदन

  दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा सम्पनन भएको छ । सभाले विभिन्न जनमुखी योजनाहरु अघि सारेको छ ।
संस्थाले दमकको पशुपति सेवा सदनमा आज सोमबार आयोजना गरेको साधारण सभामा संस्थाका उत्कृष्ट कारोबारीहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।
रिक्त रहेको एक जना सञ्चालक सदस्य पदमा देवेन्द्र चेम्जोगंलाई सर्वसम्मत चयन गर्दै संस्थाको बार्षिक कारोबारको प्रतिवेदन समेत अनुमोदन गरेको संस्थाका व्यवस्थापक प्रकाश रिजालले जानकारी दिए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षतामा भएको संस्थाको साधारण सभाले संस्थाका सदस्य सुत्केरी हुँदा दुई पटक सम्म तीन हजार रुपैयाँ सुत्केरी खर्च उपलब्ध गराउने नीति पारित गरेको छ । त्यस्तै संस्थाका सदस्यहरुलाई भैपरी आउने विभिन्न किसिमका प्राकृतिक प्रकोप तथा समस्याहरुमा राहत प्रदान गर्न संस्थाको राहत कोष स्थापना गर्ने , शेयर सदस्यहरुको मृत्यु हुँदा परिवारलाई नगद १५ हजार रुपैयाँ राहत प्रदान गर्ने, क्यान्सर , मुटुरोग सम्बन्धिको उपचारमा दिर्घरोग राहत स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने लगायतका नीतिहरु समेत पारित गरेको संस्थाका सञ्चालक राजु खडकाले जानकारी दिए । त्यस्तै सभाले पाँच जना खराब ऋणीलाई कालोसूचीमा राख्दै ऋण असुल उपरका लागि प्रकृया अघि बढाउने पनि निर्णय गरेको छ ।
२०६९ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल ३ हजार ६ सय ४८ जना सदस्य संख्या पुगेका छन भने शेयर पुँजी ३ करोड ३६ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको सभामा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्त सम्मा संस्थाामा कुल २४ करोड ११ हलाख ९० हजार रुपैयाँ निक्षेप जम्मा भएको पनि प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष निरौलाले बार्षिक प्रतिवेदन पेश गरेका थिए भने लेखा संयोजक गणेश पाठकले लेखा प्रतिवेदन पेश गरेका थिए । सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उदोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, राष्टिय सहकारी बैंक दमककी प्रमुख मुना केसी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । सभाको सञ्चालन उपाध्यक्ष रेवतचन्द्र भण्डारीले गरेका थिए ।

सोमबार, १३ भदौ, २०७९, साँझको ०५:१५ बजे

सम्बन्धित खवर