विराटनगर / सत्ता गठबन्धनका चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा काँग्रेसलाई र २ वटा माओवादीले लिन विषयमा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।

काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले मोरङमा सहमति भइसकेको बताए । ०७४ सालको निर्वाचनमा जसले जितेको क्षेत्र हो उसैलाई दिने सैद्धान्ति छलफल भएअनुसार नै मोरङमा सहमति भएको लिम्बूले बताए । ‘यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले पाउने लगभग सहमति भएको छ,’ लिम्बूले भने, ‘अन्य बाँकी ४ वटा निर्वाचन क्षेत्र काँग्रेसको भागमा पर्छ ।’ अझै पनि सकेसम्म आफूहरुले लिने प्रयासमा भने रहेको लिम्बूले बताए ।

माओवादीका पोलिटब्यूरो सदस्य तथा मोरङ इन्चार्ज गोपी बहादुर अछामीले पनि मोरङमा सोही अनुसार बाँडफाँडको टुंगो लागेको बताए । ‘अन्तिम रुप दिन भने बाँकी छ, हाम्रो पार्टीले यसअघि जितेको निर्वाचन क्षेत्र नछोड्ने भनेको छ,’ अछामीले भने, ‘काँग्रेसले ४ र माओवादीले २ निर्वाचन क्षेत्र पाउने गरी सहमति को अन्तिम चरणमा हामी छौं । आज दिनभरीमा सहमति भइसक्छ ।’

यता, जनता समाजवादी पार्टीका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले पनि मोरङको ४ वटा निर्वाचन क्षेत्रमा सहमति भइसकेको र क्षेत्र नम्बर ४ र ५ मा आफूहरुको पनि दाबी रहेको कारण माओवादी र जसपाबीच सहमति हुन बाँकी रहेको बताए । ‘मोरङको क्षेत्र नम्बर ४ र ५ मा हाम्रो पनि दाबी छ,’ यादवले भने, ‘हामी र माओवादीबीच विवाद मिलेको खण्डमा मोरङमा मिल्छ, काँग्रेसले ४ र ५ नम्बर क्षेत्रमा दाबी छोडिसकेको मैले अनुमान गरेको छु ।’

सहमति भएको खण्डमा मोरङको क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रमा काँग्रेसका डा.मिनेन्द्र रिजाल र सुजाता कोइराला, ३ बाट काँग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट काँग्रेस नेता डाक्टर शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

एमालेले भने १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये १, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट गयानन्द मण्डल र ६ नम्बरबाट लालबाबु पण्डित र टिकाराम पुरी उम्मेद्वार हुने सम्भावना छ ।

Facebook Comments Box