बेलबारी / चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । लक्ष्मीमार्गस्थित लक्ष्मी मावि खेलमैदानमा बिहीबार भएको उद्घाटन खेलमा च्यासल युथ क्लब काठमाडौंलाई हराउँदै रोलिङ क्लव धुलाबारी झापा विजयी भएको छ ।

निर्धारित समयमा खेल बराबरी भएपछि ट्राईबेकरमा च्यासललाई तीनका विरुद्ध चार गोल अन्तरले रोलिङ क्लवले पराजित गरेको हो । खेल सुरुभएको १२ मिनेटमै च्यासलका रुपेश बर्तौलाको पास पाएका सुसन लामाले गोल गर्दै टिमको खाता खोलेका थिए ।

खेलको निर्धारित समयावधि भर च्यासलले अर्को गोल थप्न सकेन । निकै प्रतिस्पर्धामात्मक रहेको खेलको दोस्रो हाफको २२ औं मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी हेन्थी वेलेले वान इन वान गोल गर्दै खेललाई बराबरीमा पुर्‍याउन सफल भए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले दोस्रो गोल थप्न सकेन ।

ट्राईबेकरमा रोलिङ क्लव धुलाबारी झापाका मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे भने च्यासल युथ क्लबका अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गर्न सफल हुँदा कमल श्रेष्ठ र अर्वीन राईले गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच रोलिङ क्लव धुलाबारी झापाको गोल रक्षक मनोज प्रधान घोषित भए । शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं र भारतको रोयल फुटबल क्लब सिलिगुडीबीच हुनेछ ।

कोरोना महामारीको असरले गर्दा यसअघिका २ वर्ष प्रतियोगिताले निरन्तरता पाउन सकेको थिएन । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११र११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता छ ।

Facebook Comments Box