वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।

सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ, प्रमाणित भएको छ ।

छठ पर्वको नाम
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।

सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।

छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।

छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन चाहिँ छैन ।

छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ ।

छठ पर्वका चार दिन
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।

यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।

यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।

छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ ।

छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।

एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।

आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् ।

छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैँटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ । छैँटीलाई टाउकोमा बोकेर विधिपूर्वक सजाइएका तलाउसम्म पुग्ने श्रद्धालुहरूको तस्बिर मनमोहक देखिन्छ ।

नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघि देखि नै माछा मासु खाँदैनन् । उनीहरूले लसुन प्याजसमेत खान नहुने विश्वास छ ।

छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।

प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना । हामी सम्पूर्ण मानवहरू सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्य देवको हामीप्रतिको कृपाका लागि सधैंसधैं अनुग्रहसित छौँ । छठी माताका विभिन्न भजन कीर्तन बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले सदियौँदेखि पुनर् परिभाषित गरिरहेको आभास हुन्छ ।

Facebook Comments Box