भारततर्फ निर्यात नहुने रुद्राक्ष चीनमा राम्रो व्यपार

सङ्खुवासभा, पुस १४ / अरुण उपत्यका क्षेत्रमा उत्पादन हुने रुद्राक्षको मुख्य बजार चीन रहेको छ । यहाँ उत्पादित रुद्राक्ष थोरै मात्रामा भारत जाने भए पनि धेरैजसो चीन नै जाने गरेको छ ।
रुद्राक्षको प्रयोग भारतमा धार्मिक उद्देश्यले हुने गरेको छ । भारततर्फ निर्यात नहुने पाँचमुखे चीनमा राम्रोव्यपार छ । केही वर्षअघिसम्म सातदेखि बढी मुख भएको (मुखदार) रुद्राक्षको माग बढी हुने गरेको भए पनि पछिल्लो समय पाँचमुखे पनि बिक्री हँुदै आएको छ । यस्ता रुद्राक्ष चिनियाँ व्यापारीले खोज्ने गरेका छन् ।

स्थानीय व्यापारीले कृषकबाट सङ्कलन गरेका रुद्राक्ष चिनियाँ व्यापारीलाई बिक्री गर्ने गरेका छन् । रुद्राक्षको मूल्यमा एकरूपता छैन, जसले जति लिन सक्छ लिइरहेका छन् । “पहिले भारतका व्यापारीले मात्र किन्दा मुखदार मात्र जान्थ्यो । चिनियाँ व्यापारी आएपछि सबैखाले रुद्राक्षले राम्रो दाम पाएको छ,” खाँदबारीका रुद्राक्ष व्यवसायी सञ्जय देवानले भन्नुभयो ।

पाँचमुखे रुद्राक्षको मूल्य प्रतिकिलो ७० रुपियाँ पनि बिक्री भइरहेको छ भने एक किलोकै १६ लाख रुपियाँमा पनि बिक्री भएको देवानले बताउनुभयो । मुखदार रुद्राक्षको मूल्य धेरै छ । २८ मुखे रुद्राक्षको मूल्य प्रतिगोटा ४० लाख रुपियाँसम्म रहेको देवानले बताउनुभयो ।ठूलो आकार र चिल्लो दाना भएको पाँचमुखे रुद्राक्ष चिनियाँ व्यापारीकोे रोजाइमा पर्ने गरेको छ । रुद्राक्ष दानाको तल्लो र माथिल्लो भाग केही थेप्चिएको (सुन्तला आकार) र त्यस क्षेत्रमा ताराजस्तो बुट्टा भएको रुद्राक्षलाई प्रतिकिलो १६ लाख रुपियाँमा चिनियाँले खरिद गरेको रुद्राक्ष व्यापारी देवानले जानकारी दिनुभयो तर त्यस्तो गुणस्तरको रुद्राक्ष भने निकै कम रहेको बताइएको छ ।

चिनियाँ व्यापारीले चाहेअनुसारको आकार प्रकारको रुद्राक्ष उत्पादन गर्न विभिन्न प्रविधि पनि भिœयाएका छन् । रुद्राक्षको दानालाई थेप्चो आकार दिन प्लास्टिकको क्लिप ल्याएर बाँध्ने गरिएको छ । बढ्दै गरेको दानाको तल्लो र माथिल्लो भागबाट चेपिदिएपछि दाना बढ्दै जाँदा चेप्टो आकारमा विकास हुन्छ ।

रुद्राक्षको दानाको आकार बढाउन र राम्रो उत्पादन लिन विभिन्न औषधिको पनि प्रयोग हुन थालेको छ । यो औषधि ‘क्लिप’ गर्नुभन्दा बढी प्रभावकारी बनेको व्यवसायी बताउँछन् । अरुण उपत्याकामा प्रत्येक किसानले दुई चार बोट रुद्राक्ष लगाएका छन् भने १०० बोटभन्दा बढी हुने किसान एक/डेढ सय छन् । बगानै बनाएका व्यावसायिक किसान भने थोरै छन् ।

अरुण उपत्यका क्षेत्रमा वार्षिक करिब दुई अर्ब रुपियाँको रुद्राक्ष कारोबार हुने व्यवसायीको अनुमान छ । रुद्राक्षको निश्चित मूल्य छैन । रुद्राक्षको मूल्य व्यापारीअनुसार फरक फरक हुने र खरिद बिक्री गरेको मूल्य गोप्य राखिने भएकाले कारोबारको विवरणबारे जानकारी नहुने रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिशुङ्खेले बताउनुभयो ।

बुधबार, १४ पुष, २०७८, बिहानको ११:१५ बजे

सम्बन्धित खवर