ओलीको गृहनगरमा सिटीपार्कदेखि रंगशालासम्मलाई बजेट

 

दमक/ अघिल्ला वर्षहरुमा झैं यस वर्षपनि बजेटमा सबैभन्दा प्राथमिकतामा प्रधानमन्त्री केपी ओलीकी जिल्ला परेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा ओलीको गृह जिल्ला झापामा अन्य जिल्लासँग जोडिएका कार्यक्रमसँगै जिल्ला केन्द्रित धेरै कार्यक्रम परेका छन्।

ओलीको गृहनगर दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्क बनाउनेसम्मका योजना आगामी आर्थिक वर्षको बजेटमा परेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरे ।

तीमध्ये तीनवटा ठूला कार्यक्रम प्रधानमन्त्रीको गृहनगर र एउटा कमल गाउँपालिकामा परेका छन्।

बजेटमा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन ‘प्याराडाइज’ स्थापना गर्ने उल्लेख छ ।

 

तर प्रधानमन्त्री स्वयंले दमक क्याम्पस भवनको शिलान्यास कार्याक्रममा आदिवासी रंगशाला निर्माणस्थलमा उक्त चिल्ड्रेन प्याराडाइज बन्ने बताएका थिए। उक्त स्थान कमल गाउँपालिका क्षेत्रमा पर्छ। उक्त स्थानबाट रंगशाला निर्माणको काम दमकमा सारिएको छ।

दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

कमलको पाडाजुँगीमा बन्ने भनिएको आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ओली सरकारले मदन भण्डारी रंगशाला बनाएपछि विवाद चर्केर रंगशाला निर्माण दमकमा सारिएको हो।

दमक नगरपालिकामै बहुतले बस पार्कसहित सिटी पार्कका लागि पनि संघीय सरकारले बजेट छुट्याएको छ ।

 

आठ ठूला सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम घोषणा गर्दा दमक पनि संघीय सरकारको रोजाइमा परेको छ।

दमकमै आगामी दुई वर्षभित्र ‍औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख छ।

बिर्तामोड–भद्रपुरलगायत देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने सरकारले घोषणा गरेको छ ।

बिर्तामोड–चन्द्रगढीलगायत नगरपालिकालाई मेगा सिटीमा विकास गरिने बजेटमा उल्लेख छ । भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न जनताको तटबन्धअन्तर्गत बजेट विनियोजन गरिएको छ ।

साथै बिरिङ, रतुवा नदीको कटान नियन्त्रण गर्नका लागि संघीय सरकारले रकम छुट्याएको छ। भद्रपुर नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जन पार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सहरी पूर्वाधार आयोजना परेका छन् ।

भारतको सिलिगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि पनि रकम छुट्याएको छ। गौरीगञ्ज गाउँपालिकामा दिगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भएको छ ।

झापाको चन्द्रडाँगीमा रहेको विउविजन केन्द्रलाई स्तरोन्नति गरेर सेन्टर अफ एक्सिलेन्स बनाउने भनिए पनि त्यस्को विस्तृत कार्ययोजना बजेटमा उल्लेख छैन। झापाको मेचीनगर नगरपालिकामा कृषि थोक बजार निर्माणका लागि पनि संघीय सरकारले बजेटको व्यवस्था गरेको छ।

आइतबार, १६ जेठ, २०७८, दिउँसोको ०२:१८ बजे

सम्बन्धित खवर