झापाको साहित्यिक धरोहर ढल्यो

१६ असार, झापा / प्रगतिशील साहित्यका एक नक्षत्र तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको छ ।

बिराट नर्सिङ होम बिराटनगरमा उपचार गराइरहेका उनको बुधबार दिउँसो साढे १ बजे निधन भएको हो । श्वासप्रश्वास तथा ढाडको समस्या भएपछि उनलाई तीन दिन अघि बिराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो ।

नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो । उनका काव्य–कविता प्रिया (खण्डकाव्य, प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह), पश्चिमी हवा प्रकाशित छन् ।

त्यस्तै, कथासंग्रह सिमीको बोट, मेको प्रेम, निबन्धमा ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकमा अझै यहाँ उस्तै छ, टेस्टट्यूब बेबी, उपन्यासमा रातको बार बजे, सर्वजा, अवस्थल, वाङ्मयमा महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय), मय विधाको प्रस्तावना प्रकाशित कृति हुन् ।

२००१ सालमा झापाको शान्तिनगरमा जन्मिएका उनका दर्जन बढी कृति चर्चित छन् । साहित्य नै सबथोक ठान्ने खतिवडा अनवरत् रुपमा विभिन्न विधामा कलम चलाउँदै आएका थिए । धुलाबारी निवासी उनको निधनले साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बुधबार, १६ असार, २०७८, रातीको ०८:४९ बजे

सम्बन्धित खवर