चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह, थप खोप चाहियो

१५ साउन, काठमाडौं / सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनिया राजदुत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् ।

नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनबाट ४० लाख डोज खोप भने खरिद गरिसकेको छ ।

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने प्रतिवद्धता उनले जनाए ।

भेटमा चिनिया राजदुत होउले जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । चिनिया जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी गिराइन् । भूकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिएकी छन् ।

शुक्रबार, १५ साउन, २०७८, दिउँसोको ०२:४९ बजे

सम्बन्धित खवर