सप्तकोशीमा पानीको सतह यस वर्षकै उच्च

सुनसरी, १४ भदौ/   निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ। केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएको जानकारीअनुसार आइतबार बिहान ११ः४० को रिपोर्टले कोशीको जलस्तर २ लाख ३० हजार ५ सय ५५ क्युसेक देखाएको छ।

कोशीको सतह ५ दशमलव २९ मिटर रहेको जानकारी पोखरेलले दिए। पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्युसेक पुगेको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

पानीको स्तर बढेको भए पनि वार्निङ लेभलभन्दा मुनि नै रहेको उनले बताए ।

निरन्तरको वर्षासँगै कोशीको बहाव बढ्दा श्रीलंका टापुको सुनसरी तर्फको क्षेत्रमा कटान सुरु भएको छ। नदीले टापु क्षेत्रका केही स्थानमा कटान सुरु गरेको पोखरेलले जानकारी दिए।

उनका अनुसार जोखिमा रहेका गरैया टापुका २० घर परिवारको उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ र नदीको बहाव बढेसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा छ।

उनले कोशी छेउछाउ बस्ने नागरिकलाई विभिन्न समयमा कोशी फुटेर धनजनको क्षती भएको थाहा भए पनि व्यापार व्यवसाय गरेर बस्दा सो स्थानका नागरिकले वर्षौं क्षती बेहोर्नुपर्ने बाध्यता रहेको बताए। ‘बराहक्षेत्र, कोशीपालिका लगायतका जोखिम क्षेत्रमा बस्ने नागरिकलाई हामीले जोखिम क्षेत्रमा नबस्नु भनेर अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘विगतका घटना नदोहोरिओस् भनेर चेतना पनि जगाइरहेका छौ । तर, उहाँहरू व्यापार, व्यवसाय गरेर बस्नुभएको छ।’

साउन ३२ गते कोशीमा पानीको बहाव २ लाख ५६ हजार २० क्युसेक मापन गरिएको थियो। पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको हो।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ ।

सोमबार, १४ भदौ, २०७८, बिहानको ०९:२३ बजे

सम्बन्धित खवर