आज हरितालिका तीज

दमक/ हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछ । नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।
अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि शक्ति) ले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।
यस दिन महिलाहरू आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ । तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।
भाद्रशुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
हरितालिका तीजको दिन बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लाग्ने गरेको छ ।
हरितालिका तीजको सामाजिक र सांस्कृतिक पक्ष निकै रोचक छ । सामाजिक मान्यताअनुसार असार–साउन महिनामा लगाइने वर्षेबालीहरू धान तथा तरकारी बाली रोपिसकेर फुर्सदको समयमा घरजम गरेर गएका आफ्ना दिदीबहिनी, चेलिबेटीहरूको हालखबर बुझ्न र सके उनीहरूलाई माइतीमै ल्याएर मिठो मसिनो खुवाउने र उनीहरूको वेदना गीतमार्फत सुन्ने प्रचलन पहिलेदेखि नै चलिआएको हो ।
यो कार्यले धेरै पछि भेट भएका परिवारको आपसी सम्बन्ध र सद्भावलाई अझै गाढा बनाउने काम गर्छ तर अहिले फेरिँदै गएको प्रविधियुक्त समयले तीजलाई पनि असर गरेको छ। सांस्कृतिक र गहन सामाजिक अर्थ बोकेको तीजमा आजभोलि पश्चिमाशैली हावी हुन थालेको छ ।
माइत आएकी चेली बुबा, आमा, दाजुभाइ मिलेर पकाएको दर खाँदै चेलिबेटीका दुःखसुखका वेदना सुन्ने कुरा बिर्सिएर पार्टी प्यालेसमा दुग्धजन्य पकवानभन्दा अन्य पकवानलाई विशेष प्राथमिकतामा राखेर भोज गर्ने, गरगहना र कपडामा कसको राम्रो, महँगो भनेर प्रदर्शन गर्ने तथा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ । साथै चर्को गीतरसङ्गीतमा उत्ताउलो खालका दुईअर्र्थी गीत बजाएर गरिने नृत्यले तीजको सामाजिक महत्वलाई घटाएको कुरा सोचनीय छ ।
वर्ष दिनमा माइत आइपुग्ने चेली धक फुकाएर आफ्नो मनको बह गीतमार्फत सुनाउने र नाच्ने तीजको पुरानो मर्म अहिले हराएजस्तो हुन थालेको छ । हामीले सानैमा देखेको तीज मनाउने–मान्ने शैलीमा अहिले धेरै नै परिवर्तन भएको छ । यस्ता क्रियाकलापले तीजको धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई ओझेलमा पारेको छ । यस्ता विकृति हटाउँदै सुसभ्य भएर आफ्ना भावना गीतमार्फत एकअर्कामा साटेर, सम्यक भोजन गर्दै दुःखसुखका कुरा गर्ने जुन तीजको मर्म छ, त्यसलाई बचाउँदै तीज मान्नुपर्ने देखिन्छ ।
समय र पुस्ताअनुसार परिवर्तन स्वाभाविकै हो तर कुनै पनि कुराको मूल तत्व, मर्म नै हराउने गरेर भएको परिवर्तनलाई मौलिक मान्न सकिँदैन । तीजको मौलिकता, सामाजिक तथा सांस्कृितक पाटोलाई जोगाउन नयाँ पुस्ताले सोच्नुपर्ने बेला आएको छ ।

मङ्गलबार, १४ भदौ, २०७९, बिहानको ०७:३७ बजे

सम्बन्धित खवर