मोरङमा लागुऔषधसहित ५ जना पक्राउ

दमक, १४ असोज/ मोरङको सुनवर्षी र विराटनगरबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित ५ जना पक्राउ परेका छन्।
प्रहरीको विशेष टोलीले विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एकै परिवारका दाजुभाइ  पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–६ का २४ वर्षीय सौरभ आचार्य र उनका भाइ सौगात आचार्य पक्राउ परेका छन्।
उनीहरूको साथबाट १० ग्राम १ सय २० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थपेर घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुन्दरहरैंचाबाट पनि एक जना पक्राउ

त्यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का २३ वर्षीय अल्फन लिम्बू विराटनगर–१५ बाट लागुऔषधसहित पक्राउ परेका छन्।
एसपी राईका अनुसार विराटनगरको सीमावर्ती नाका जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेका लिम्बूलाई ४ एम्पुल लुपिजेसिक, ७ एम्पुल डाइजाल्याब, ९ एम्पुल एभिल र ६ एम्पुल फेनारगनसहित पक्राउ गरिएको हो।
उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले बुधबार म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

सुनवर्षीबाट दुई जना पक्राउ

यसैबीच, मोरङको सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चोकबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटरमा सवार रतुवामाई नगरपालिका–९ का २१ वर्षीय गोविन्द थापा र स्कुटरचालक उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय अनिल राय पक्राउ परेका हुन्।
एसपी राईले थापाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ४ सय पिस बरामद भएको बताए। उनका अनुसार प्रतिबन्धित औषधि फेला परेपछि थापा र रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रदेश १ मा लागुऔषधको अवस्था

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार प्रदेश १ मा ३ वर्षयता २ हजार ४ सय ८५ किलो ९५ ग्राम गाँजा, करिब ३३ ग्राम चरेस, साढे ३ किलो अफिम, ९ किलो २ सय साढे २१ ग्राम ब्राउनसुगर, प्रतिबन्धित विभिन्न औषधिका १ लाख २० हजार २ सय ८२ क्याप्सुल, ५८ हजार ७ सय ९८ एम्पुल नशा लाग्ने विभिन्न सुइ साथै ७ हजार १ सय १६ अन्य नशालु औषधि बरामद भएको छ।
यस्तै लागुऔषधसम्बन्धी १ हजार ७ सय ९१ मुद्दा दर्ता भएका छन्। २ हजार ५ सय ५७ पुरुष र १ सय ३२ महिला पक्राउ परेका छन्।

बिहिबार, १४ असोज, २०७८, दिउँसोको १२:११ बजे

सम्बन्धित खवर