विराटनगर / १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी श्याम सारुमगरले जानकारी दिए । १७ जना गम्भीर घाइते र १ सय ६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्तिक ६ देखि ११ गतेसम्म पाँच दिनमा सबैभन्दा बढी भाइटिकाको दिन सवारी दुर्घटना भएको छ । भाइटिकाको दिन २३ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । तिहार सुरु भएको पहिलो दिन काग तिहार कार्तिक ६ गते १८ वटा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

यस्तै कार्तिक ७ गते १५ वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । कार्तिक ८ गते १३ वटा दुर्घटनामा परी २ जनाको, कार्तिक ९ गते १३ वटा दुर्घटनामा परी २ जनाको र कार्तिक ११ गते १७ वटा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार सुनसरीको इटहरी–१० मा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राईको मृत्यु भएको छ । तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।

तिहारमा सबैभन्दा बढी दुई पाङग्रे सवारी साधन बढी दुर्घटना भएको डिएसपी मगरले बताए । ‘दुर्घटनाको कारण तीव्र गति र मादक पदार्थ सेवन गरेर चलाउँदा सवारी दुर्घटनामा भएको देखिएको छ,’ डिएसपी मगरले भने ।

Facebook Comments Box