दसैं तिहारपछि मनाइने सबभन्दा ठूलो पर्व हो छठ । तराई मधेसका हिन्दू धर्मावलम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक धर्मावलम्वीले मनाउन थालेका छन् । भारत, नेपालमा मात्र विशेष रुपमा मनाइने यो पर्व हाल अन्तराष्ट्रिय रुपमा मनाउन थालिएको छ ।
नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, अमेरिका, न्यूजील्यान्ड, बेलायत, दक्षिण अफ्रिका, ट्रिनिडाड, टोबागो, गुएना, जापान, सुरिनाम, जमैका, आयरल्यान्ड, अस्ट्रेलिया, मलेसिया, मकाउ, इन्डोनेसियालगायतका देशमा पनि छठ पर्व मनाउने गरिएको छ । मिथिला क्षेत्रबाट सुरु भएको छठ पर्व विश्वभर फैलिनुमा यसको लोकप्रियता रहेको संस्कृतिविद् डा रामदयाल राकेश बताउँछन् ।
यो पर्वमा सूर्यको पूजा हुन्छ । जसरी सूर्यले घामका लागि कसैमाथि भेदभाव गर्दैन, त्यस्तै छठमा कसैमाथि भेदभाव हुँदैन । यो सबैको साझा पर्व हो । यसको वैज्ञानिक, साँस्कृतिक, सामाजिक र धार्मिक महत्व रहेको हुनाले सबैले यो पर्व मनाउने गरेका छन् । घरपरिवारमा सुख शान्ति र ऐश्वर्यका लागि कामना गर्दै यो पर्व मनाउने गरिन्छ । र, धेरैको मनोकामना पनि पूरा भएको हुनाले यो पर्वको विस्तार दिनदिनै हुँदै गइरहेको छ ।

छठ पर्वको सन्दर्भ
महाभारत कालमा सूर्यको पूजासम्बन्धि श्लोकमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा यो व्रत बसेको मान्यता छ ।
यसै गरी रामायण कालमा पनि रामले लंका जितेपछि सीताले छठ पर्व गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । सूर्य पुराणमा छठ पर्वको बारेमा उल्लेख गरिएको छ । नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःख कष्टको निवारणको उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख छ ।

दलित समुदायले समेत मनाउन थालेकाले यो पर्व हिन्दूको मात्र नभई, जसलाई आस्था हुन्छ सबैले मनाउने गरेका छन् । छठ बिस्तारै मधेसबाट पहाड उक्लिन थालेको छ । गत वर्ष कोरोनाका कारण छठ पर्व प्रभावित भएको थियो । ब्रतालुहरुले खुल्ला रुपले छठ पर्व मनाउन सकेका थिएनन् । यसपटक भने देशैभर उत्साहका साथ पर्व मनाउन थालिएको हो ।

‘न त दसैं पर्वते समुदायको, न छैठ नै मैथिलको । सनातन परम्परा र धर्मानुसार उपासना विधिमा सामान्य हेरफेरका साथ सबै हिन्दूहरूले मनाउने गरेको पाईन्छ,’ तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता भन्छन्, ‘पटना मिथिला क्षेत्र होइन, तर त्यहाँको सबैभन्दा ठूलो चाड छठ नै हो, त्यस्तै प्रयागको संगममा पनि । अब घडिअर्वा पोखरी र रानी पोखरीमा मनाउने छठमा धेरै अन्तर छैन ।’
छठ र आर्थिक अवस्था
छठ पर्व अर्थतन्त्रको ठूलो हिस्सा बन्न पुगेको छ । पहाडतिर दसैंतिहारमा व्यापार भएझैं छठमा तराई मधेशमा त्यतिकै व्यापार हुने गरेको सिरहा लहानका कपडा व्यापारी राकेश चौधरीले बताए ।
व्रत बस्ने प्रत्येक व्रतालुले एउटा न एउटा साडी अवश्य खरिद गर्छन् । कतिपयले त परिवारका हरेक सदस्यका लागि लुगा किन्ने गरेका छन् । एक अध्ययनअनुसार छठमा मात्र देशभर ५ अर्बभन्दा बढीको कारोवार हुने गरेको छ । अनुमानित ३० लाख भन्दा बढी घरपरिवारले यो पर्व मनाउने गरेका छन् । एउटा परिवारले दुई हजारदेखि १० हजार खर्च गरेका हुन्छन् ।

छठमा ६० भन्दा बढी प्रकारका सामग्री प्रसादका रुपमा तयार पारिन्छ । त्यसको मात्रै हिसाब गर्ने हो भने धेरै हुन जान्छ । त्यसैले आर्थिक कारोवार हुने पर्वको रुपमा छठलाई पनि लिइन्छ ।
छठ पर्वमा अर्थतन्त्रको चलायमनले विपन्न समुदायका लागि आम्दानीको स्रोत बन्नु राम्रो पक्ष हो । तर यसको दुर्बल पक्ष भनेको गरिबलाई ऋण गरी पर्व मनाउने बाध्यता पनि रहेको छ ।

छठ र कृषि
छठ पर्वमा कृषिको पनि निकै महत्व रहेको हुन्छ । यसमा पूजाका लागि संकलन गरिने सामग्री हेर्दा यो सहजै पुष्टि हुन्छ । यो पर्व मनाउन षष्ठी तिथिका दिन ६० वस्तुहरूको संख्या पु¥याउनुपर्ने विधान छ । यो संख्या पुग्यो वा पुगेन भने त्यसको ठाउँमा गम्हरी नामको चामल राखे पुग्ने पनि जनश्रुति विद्यमान छ । यसका आधारमा कुनै वस्तु कम भयो होला कि भनेर गम्हरीको चामल पनि राख्ने चलन छ ।

यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दाल चिनीजस्ता मसला, घीउ, चिनी, भेलीको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा बनाइन्छ ।
त्यस्तै, विभिन्न प्रकारका फलफूल, विभिन्न प्रकारका तरकारी, मूला, गाजर, हल्दी, अदुवा, ओल, कागती, उखुलगायतका वस्तु राखिन्छ । साना, ठूला मझ्यौला खालका माटाका भाँडाहरूमा यी वस्तुहरूलाई राखिन्छ । बाँसको ढकिया, कोनियाँ, नाङ्लो, चलनीमा पनि यी वस्तुहरू राखिन्छ । यसरी यस मौसममा प्राप्त हुने प्रायः सबैजसो कृषिका उपजहरु प्रयोग गरेको पाइन्छ ।

छठ पर्व कृषि संस्कृतिबाट प्रकट भएको हुनाले यो प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने तथा ग्रामीण अर्थतन्त्रमा आधारित पर्व मानिन्छ । विश्लेषक चन्द्रकिशोरका अनुसार नदी वा पोखरी किनारमा समुदायका सबै ब्यक्ति समान रूपमा उपस्थित भई गाउँघरमै अर्थात् आफ्नै खेतबारीबाट उपलब्ध हुने सामग्रीको संयोजन गरी प्रकृतिपुरूष सूर्यप्रति अर्घ दिइन्छ । अनुष्ठानभित्रको मूलतत्व प्रकृतिसमक्ष सबै जाति समान तथा आत्मस्वावलम्बनलाई प्रोत्साहन दिने लोकपर्व हो छठ । यसले स्थानीयताको उत्कृष्ट र मनोरम चाहना प्रस्तुत गरेको छ ।

कृषि कार्यका लागि सूर्य र जल अपरिहार्य हो । वरिपरिका उत्पादन जसले पोषण दिन्छ, जो श्रम र साधना गर्न सघाउँछ, स्वस्थ्य चिन्तन गर्न बल दिन्छ । यस अवसरमा सबैप्रति कृतज्ञता प्रकट गरिन्छ । कृतज्ञताको भाव जुन संस्कृतिमा हुन्छ, त्यो समाजलाई उच्च मानिन्छ ।

डा. राजेन्द्र विमलद्वारा लिखित मिथिलाको इतिहास, संस्कृति र कला परम्परा नामक् पुस्तकमा छठ पर्वलाई आर्यहरूको सूर्य उपासना परम्पराको एक अंग भनिएको छ । सो पुस्तकमा यो पर्व अत्रि मुनिकी पत्नी अनुसुयाले व्रत गरेको पनि उल्लेख छ ।

चार दिन मनाइने

यो पर्व सम्पन्न गर्नका लागि विभिन्न समुदायको सहकार्य हुन्छ । चोखो हुने दिन हजामको परिवारले आआफ्ना यजमानको कपाल दाढी काट्ने, नंग काट्ने गर्छन् । अहिले त्यो मान्यता हराउँदै गइरहेको छ । त्यस्तै, मालीले फूल दिने गर्छन् । डोमहरूले बाँसका सामग्री अनि कुम्हालेले माटाका भाँडा दिने गर्छन् । यी सबैको साटो यजमानहरूबाट उनीहरूले धानजस्ता अन्नबाली वा नगद लिने गरेका छन् ।

यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् ।
पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलीमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ । पञ्चमी तिथिको बेलुका उपवास भंग गरेयता सप्तमी तिथिको प्रातःकालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गरिन्छ । षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातःकाल उदाउँदो सूर्यको पूजा अर्चना गरी व्रत सम्पन्न गरिन्छ ।

Facebook Comments Box