सम्झाएर मात्र सुधार्न सकिन्छ बालबालिका

केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ?
अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । सङ्कटा मन्दिरमा दर्शन गर्न आउनुभएको रश्मि अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाउनुभयो । त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो । सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिनुभयो र आमालाई सम्झाएर पठाउनुभयो ।
कार्की भन्नुहुन्छ, ‘‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ, त्यसैले रगत बगेको हो ।’’ यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न सुझाव दिनुहुन्छ । बच्चाले दुःख दिएकाले पिटेको प्रतिक्रिया दिँदै अधिकारीले भन्नुभयो, ‘‘विस्तारै गरे जस्तो लागेको थियो रगत नै आयो अबदेखि कहिले पिट्दिनँ, म त धेरै डराएकी छु ।’’ यो त एउटा प्रत्यक्ष देखिएको घटना मात्र हो । यस्तो घटना धेरै घरघरमा भइरहेको हुन्छ ।
‘‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’’ मनोविश्लेषक बासु आचार्यले थप्नुहुन्छ, ‘‘बच्चालाई सही बाटोमा डोहो¥याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ ।
जब बालबालिकालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ भन्दै उहाँले थप्नुभयो, ‘‘बच्चाहरू झन् आक्रामक, आपराधिक मनोवृत्तिका हुन सक्छन् ।’’ यता मानसिक समस्या सम्बन्धित चिकित्सक डा. सरोज ओझा भन्नुहुन्छ, ‘‘बालबालिकालाई पिट्ने, गाली दिने जस्तो कार्यले उनीहरूमा नकारात्मक सोचाइ पैदा हुन्छ, त्यस्तो गर्नु हुन्न ।’’ उहाँ थप्नुहुन्छ, ‘‘विश्वका कुख्यात अपराधीहरूको पृष्ठभूमि पढ्नुभयो भने थाहा हुन्छ, जसले बाल्यकालमा यातना, पीडा, वियोग भोगका छन्, उनीहरूमा विकृत मानसिकता पैदा हुन्छ ।’’
डा. ओझाका अनुसार बच्चालाई शारीरिक दण्ड दिनुहुन्छ, पिट्नुहुन्छ भने त्यसले बच्चाको सुधार हुँदैन भने यस्तो व्यवहारले अनुशासित पनि हुँदैन । वास्तवमा यस किसिमको कारबाहीले बच्चामा काम गर्नका लागि आन्तरिक प्रेरणा जगाउनु जरुरी हुन्छ ।
मनोविश्लेषक आचार्यले बालबालिकालाई कहिले पिट्ने कहिले माया गर्ने जस्तो व्यवहार पनि गर्न नहुने सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘बुबा, हजुरबुबाको पालामा अनुशासनका लागि गरिने तरिका सही मानिन्थ्यो । डर पैदा गरेर काम लगाइन्थ्यो तर अहिलेका अभिभावकले कहिले पिट्ने तथा कहिले अत्यधिक मायाले बच्चा नै दुविधा पर्छ । जसले गर्दा बालबालिकाले आमाबुबालाई नटेर्ने, हेप्ने गर्न सक्छन् ।’’
बालबालिकालाई पिट्ने भनेको त गल्ती नै हो, आचार्य भन्नुहुन्छ, यस्तो पिटाइ खाने बच्चाहरूको बौद्धिकतामा असर पर्नुको साथै सानो गल्तीमा पनि पिटाइ खाने त हो भन्ने भावना सिर्जना हुन्छ । बालबालिकालाई यो काम नगर वा त्यो भने गर्दा हुन्छ भन्ने गर्नुपर्छ, त्यसले गर्दा उनीहरूमा जानकारी हुने मनोविश्लेषकहरूको भनाइ छ । आचार्य एक अध्ययनको स्मरण गर्दै भन्नुहुन्छ, ‘‘साना प्राथमिक तहका बालबालिकालाई गरिएको गाली गर्ने वा पिट्ने वा सम्झाउने भन्ने सर्वेक्षणमा धेरैले सम्झाउँदा सम्झने प्रतिक्रिया दिएका थिए ।’’ अभिभावकसँग बालबालिकालाई कसरी सम्झाउने भन्ने कुराको ज्ञान हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
बच्चाले कुनै गल्ती गर्छ भने त्यो उसले जानेर वा नजानेर गरेको हो ? भन्ने बुझ्नुपर्छ भन्दै डा. ओझा थप्नुहुन्छ, ‘‘नजानेर गरेको भए त्यो काम गलत हो भनेर सम्झाउनुपर्छ । साथै जानेर गरेको छ भने त्यसको नकारात्मक असर के हुन्छ, त्यो
काम किन गर्नु हुँदैनथ्यो भन्ने कुरा महसुस गराउनुपर्छ ।’’
राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख कृष्णप्रसाद भुसालले बालबालिकालाई मानसिक र शारीरिक रूपमा यातना दिन नहुने जानकारी दिनुभयो । उहाँले बा(लबालिकालाई यानता दिएमा के सजाय हुन्छ भन्ने कुरा नबुझेर पनि यस प्रकारको कार्य गर्ने गरेको बताउँदै कानुनबारे जनचेतना दिनुपर्ने आवश्यक भएको बतउनुभयो । बालबालिका ऐन २०७५ दफा ७२ को उपदफा ३ (क)मा बालबालिकालाई कुनै प्रकारको शारीरिक तथा मानसिक यातना दिएको खण्डमा ५० हजार रुपियाँ जरिवाना र एक वर्ष कैद हुने व्यवस्था छ
सुधार्ने माध्यम खेल
बच्चालाई अनुशासित, संयमित, धैर्यवान् बनाउने राम्रो माध्यम खेलकुद भएको जानकारहरू बताउँछन् । खेल्न पाएपछि बच्चाहरू फुरुङ्ग हुन्छन् । खुसी हुन्छन् । उनीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ । यससँगै उनीहरूमा राम्रो गुणको पनि विकास हुन्छ । बच्चालाई सजाय दिएर, गाली गरेर होइन, सही विधिबाट सुधार्नुपर्छ । खेलकुद यस्तो माध्यम हो, जसले बच्चालाई अनुशासित, उत्तरदायी, संयमित बनाउने आचार्य बताउनुहुन्छ ।

गोरखापत्र अनलाइनबाट

शनिबार, १४ मंसिर, २०७६, बिहानको १०:०२ बजे

सम्बन्धित खवर