स्पर्श र अंगालो पनि औषधि हो

डा. अरुणा उप्रेती

 

आफूले माया र स्नेह गरेको मानिसलाई कोरोनाका बेला अंगालो मार्ने, मुसार्ने, चुम्बन गर्ने कामहरू हुँदै गएका छन् । यसले गर्दा कति मानिसहरू दुःखी छन् । प्रायः माया गर्दा छोइने, मुसार्ने काम पनि एउटा औषधी हो भन्ने कुरा प्रायः हामीले वास्ता नै गर्दैनथ्यौं । तर, कोरोनाको बेला “स्पर्श” नहुँदा हामीलाई न्यास्रो लागेको छ ।

धेरै वर्षअघि बाँदरका बच्चाहरुमा एउटा अनुसन्धान गरियो । जुन अहिलेको दृष्टिकोणले ‘अमानवीय’ मानिन्छ । बाँदरका शिशुहरुलाई उनीहरुका आमाबाट टाढा राखियो, छुन दिइएन । बाँदरका शिशुहरुले आˆनी आमालाई देख्न सक्थ्यो, सुन्न सक्थे । तर, छुन सक्दैनथे । ती बाँदर शिशुलाई सम्पूर्ण स्वास्थ्य सुविधा, शिशुलाई चाहिने सम्पूर्ण भोजन दिइयो । तर, आमाको छुवाइ र अंगालोबाट वञ्चित गरियो ।

बाँदरले  शिशुलाई अँगालोमा बाँधिराख्छन् । जुम्रा हेरिरहन्छन् । कहिले ढाड सुमसुम्याउँछन् । कहिले जिउ कन्याइदिन्छन् । तर, अनुसन्धानमा .राखिएका शिशुलाई यो सबै कसैले गरेन । अनि त सम्पूर्ण स्वास्थ्य सुविधा, पोषण हुँदाहुँदै पनि ती शिशु बाँदर ‘सुकेनाश रोग’ लागेर दुब्लाउँदै गए । चिकित्सा शास्त्रको दृष्टिकोणमा उनीहरुलाई “मारासमस” भयो । अर्थात् खिइँंदै गए ।

न्यूयोर्कको बेल्लेभ्यु अस्पतालमा मानिसका बच्चाहरुमा एउटा अर्को अनुसन्धान गरियो । त्यहाँ विरामी भएर राखिएका बच्चाहरुलाई छुने, कुरा गर्ने, हाँस्ने म्वाइँ खाने अँगालो मार्ने गरियो । यो एउटा साधारण कामले त्यहाँका मानव बच्चाहरुको मृत्युदर ५० प्रतिसतमा र्झन पुग्यो ।

बाँदर शिशुलाई नछोइँदा र मानव शिशुलाई छोएर, हाँसेर, भावनात्मक रुपमा सहज बनाएर कसरी उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिँदो रहेछ भन्ने एउटा अनुसन्धानात्मक उदाहरण हुन् यी । तर, अझै पनि माया, अँगालो, स्नेह एउटा “औषधी” हो भन्ने कुरा हामीहरुले बुझ्न नै बाँकी छ ।

किन होला त शिशुहरुलाई छुँदा, उनीहरुसँग हाँस्दा कुरा गर्दा यति ठूलो सकारात्मक प्रभाव पार्ने ? वैज्ञानिकहरुले यसमा धेरै अनुसन्धान गरेका छन् । हाम्रो पूर्वीय संस्कृतिमा बच्चा जन्मेपछि उसलाई मसाज गर्ने, काखीमा राख्ने चलन त यसरी गाँसिएको छ कि बच्चालाई आमा, बज्यै, काकी, फुपूहरुले छोड्दैनन् । एक्लै त राख्नैहुँदैन भन्ने विचारले जता जाँदा पनि सँगै बोकेर हिँड्छन् । पिठ्यूँमा बाँधेर हिँड्छन् । राति पनि एक्लै सुताउँदैनन् । पाँच वर्षसम्म वा कति ठाउँमा त १० वर्षसम्म बच्चा आमा-बासँगै सुत्छन् ।

मसाज गर्ने चलनले बच्चाको शारीरिक वृद्धि त गर्छ नै, उसको श्वास प्रश्वास क्रिया, रक्त सञ्चार क्रिया आदिमा सकारात्मक प्रभाव पार्नुका साथै मानसिकरुपमा पनि स्वस्थ बनाउँछ । आमा वा चिनेका अनुहार नजिकै आउँदा शिशु हाँस्छ । किनभने शिशुले भावनात्मकरुपमा सहारा पाएको हुन्छ ।

पूर्वीय संस्कृतिमा सहजरुपमा मानिने मसाज, अँगालो आदिलाई अमेरिकाको मियामीमा ‘टच रिसर्च इन्स्िटच्युट’मा वैज्ञानिक अनुसन्धान गरियो । समयभन्दा अगाडि जन्मेका शिशुहरुलाई दिनको तीनचोटि हलुका मसाज गरेपछि उनीहरुको तौल ४७ प्रतिसतले बढ्न गयो । उनीहरु बढी जागरुक भएको पाइयो । र, के फेला पर्‍यो भने मसाज गरिएका शिशुहरुको स्वास्थ्य मसाज नगरिएका शिशुको स्वास्थ्य भन्दा राम्रो भएर, उनीहरु ६ दिनअघि नै अस्पतालबाट घर गए ।

साना शिशु, बालबालिका, किशोर किशोरी सबैलाई भावनात्मक बल दिन बोली र छुवाइ, अँगालोको जरुरत पर्छ भन्ने कुरा सिद्ध भइसकेको छ ।

अष्ट्रेलियाको एक अस्पतालमा मानौं एउटा ‘जादू’ भयो । एकजना महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । एउटा बच्चाको तौल राम्रो थियो र ऊ बाँचेको थियो । अर्को बच्चा केही सानो भएकाले डाक्टरहरुले उसलाई बचाउन सकेनन् । बच्चाको अन्तिम संस्कारका लागि दिनुुभन्दा अघि शिशु आमालाई दिइयो । अति दुखित आमाले मृत भनिएको त्यो शिशुलाई छातीमा टाँसिरहिन् । शिशुको शरीरलाई मुसारिरहिन् र भनिन् “हामी तिमीलाई माया गर्छौं । तिमी जहाँ भए पनि तिम्रो याद हामीलाई आउनेछ ।”

यति भन्दै मुसार्दा मुसार्दै त उनले शिशुको शरीरमा केही हलचल महसुस गरिन् । पहिले त त्यति वास्ता भएन । तर, फेरि जब दोस्रो र तेस्रोचोटि शिशु हल्लिएको जस्तो लाग्यो र उनले डाक्टरलाई भनिन् ।

साँच्ची नै जादू नै भएको थियो । शिशुको धड्कन त विस्तारै बढ्यो र शिशुले आँखा खोलेपछि बाबुले रोएर, खुशी भएर भने “म अहिले संसारको सबभन्दा भाग्यमानी बाबु हुँ ।”
‘सबै मृत बच्चाहरु यसरी बिउँतिन सक्दैनन् । तर, यो त हाम्रा लागि पनि जादू नै भयो ।’ डाक्टरले भने ।

कसरी मानव शरीरमा छुवाएर, म्वाइँ आदिले अहिले सकारात्मक परिवर्तन ल्याउँदा र कसरी पिटाई, वेवास्ता, घृणाले शारीरिक र मानसिक स्वास्थ्यमा समेत नराम्रो असर पर्छ ? अहिले पश्चिमी समाजमा विभिन्न अध्ययनहरु चलिरहेका छन् । प्रायः अनाथाश्रममा राखेका शिशुहरु, जसलाई अँगालो मार्ने, कुरा गर्ने, मसाज गर्ने मानिसहरु हुँदैनन्, उनीहरु भावनात्मक र शारीरिक दुवै दृष्टिकोणले कमजोर हुन्छन् । नबोल्ने, नमुस्कुराउने, उदास आँखाले टोलाइराख्ने, खेल्नमा रुची नराख्ने आदि बानी हुन्छ । अनाथ आश्रममा पालिएका बालबालिकाको ।

त्यसैगरी घरमा पनि यदि कोही शिशु अपहेलित छ, उसलाई कसैले माायाले अँगालो मार्दैन, म्वाइँ खाँदैन, कुरा गर्दैन भने त्यो शिशुलाई कुपोषण हुन्छ भन्ने पनि साबित भइसकेको छ । माया स्नेह र स्पर्शको विषयमा मानिसमा मात्र होइन, जनावरमा समेत प्रभाव पार्छ भन्ने कुरा हामीहरुले धेरै सुनेका छौं ।

तर, वैज्ञानिक अनुसन्धान गरेर नै मेरिल्याण्ड मेडिकल स्कूलका वैज्ञानिक जेम्स लिन्चले सिद्ध पनि गरेका छन् । उनले मानिसहरुका लागि उच्च रक्तचाप कम गर्ने औषधिको अनुसन्धानका लागि केही कुकुरहरुलाई छाने । कुकुरहरुमा पहिले विभिन्न माध्यमद्वारा उच्च रक्तचाप पैदा गरेर अनि त्यसपछि, त्यसलाई कम गर्ने औषधिहरुको प्रयोग गर्ने उनी र उनका वैज्ञानिक साथीहरुको अनुसन्धानको विषय थियो । त्यस अनुसन्धानका बेलामा के फेला पर्‍यो भने जब जब कुकुरलाई उच्च रक्तचाप भयो, त्यसबेला बैज्ञानिकहरुले उनीहरुलाई टाउकोमा स्नेहले सुमसुम्याएपछि कुकुरहरुको रक्तचाप त ५० प्रतिशत कम भएछ । कुकुरका साथै अन्य जनावरहरुमा पनि यो अनुसन्धान गर्दा त्यसरी नै उच्च रक्तचाप परिवर्तन भयो । उनले यसबारे विभिन्न ठाउँमा लेखे र प्रकाशित पनि गराए । तर, यस कुरामा अन्य वैज्ञानिकहरुले त्यति ध्यान दिएनन् ।

अन्य अनुसन्धानमा के देखियो भने चिन्तित र उदास भएका मानिसहरुसँगै बसेर कुरा गर्दा, भ्रमण गर्दा उनीहरुको शरीरमा ‘डिप्रेशन’ पैदा गर्ने हर्मोन कर्टिजोल कम हुन गयो । शरीर दुख्दा, बिरामी भएपछि कमजोर हुँदा आमा र बज्यैहरुले तेल तताएर मज्जासँग शरीरमा मालिस गर्दा आनन्दको अनुभव भएर निन्द्रा लागेको कुरा प्रायः हामी सबैलाई थाहा छ । यसको वैज्ञानिक अनुसन्धान (पश्चिमी देशमा) पर्याप्त भएको छ र मसाजले शारीरिक एवं मानसिक रुपमा पर्ने सकारात्मक प्रभाव सिद्ध भइसकेको छ ।

हामीकहाँ पनि सुत्केरी महिला र साना शिशुलाई तेल दल्ने आदिले संस्कृतिमै स्थान पाएका छन् । आजकल त विभिन्न स्पा र आयुर्वेदिक औषधि गर्ने स्थानहरुमा पनि चिकित्साको एउटा पद्दति नै मानिन्छ मसाजलाई । अपशोच ! कोरोनाका बेला यो कम भएको छ ।

स्पर्शले कसरी मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रभाव पार्छ भन्ने कुरामा अमेरिकन बालबालिकाका मानसिक रोग विशेषज्ञ डा. ब्रुसले एउटा किताब लेखेका छन् । “एउटा बालक, जसलाई कुकुर झै हुर्काइयो’ शीर्षकको किताबमा उनले आफूकहाँ उपचार गर्न ल्याइएका साना बालकहरुको मानसिक उपचार गर्ने तरिकाको बारेमा लेखेका छन् ।

‘टम’ नामको एक बालककी आमाको मृत्यु भएपछि, उनका सौतेनी बाबुले काममा जाँदा त टमलाई खाना दिएर कुकुरसँगै खोरमा बाँध्ने गर्दो रहेछ । टमलाई उसका सौतेनी बाबुले पिट्ने नगरे पनि वास्ता नै गर्दैन थिए । ‘टम’ ले कुकुरको जस्तै बानी सिकेर मान्छेको भाषा पनि सिकेन । किनभने, बाबुले उससँग कुरा नै गर्दैनथ्यो ।

दुई वर्षपछि एकदिन जब टम बिरामी भएर अस्पताल लगिए, अनि पो त्यहाँका डाक्टरले थाहा पाए कि टमलाई कसरी हुकाईएको रहेछ । उसलाई सौतेनी बाबुबाट छुटाएर राज्यले आफ्नो संरक्षणमा लिएर अस्पतालमा उपचार गर्न थाल्यो । तर, टमसँग कुकुरको जस्तै बानी भएकाले नर्सहरुलाई टोक्ने, चिथोर्ने र खाना पनि कुकुरले जस्तै गरेर मुख तल गरेर खाने गर्दा रहेछन् ।

उनलाई उपचार गर्न डाक्टरलाई समस्या परेपछि उनीहरुले बाल मानसिक रोग विशेषज्ञ डा. ब्रुसलाई बोलाए । डा. बु्रसले बालकलाई औषधि दिएर होइन कि हातको स्पर्श, माया, मुस्कान दिएर उपचार गरे । झण्डै ६ महिनापछि ‘टम’ को बानी व्यवहारमा विस्तारै परिवर्तन आयो । अनुहारमा मुस्कान पनि आउन थाल्यो । र, डा. ब्रुससँग ऊ अँगालो मारेर हाँस्न पनि थाल्यो ।

झण्डै एक वर्षको उपचारपछि ‘टम’ लाई एउटा जोडीले कानूनीरुपमा धर्मपुत्र पाल्न लगे । डा. ब्रुसले यो कथाको अन्तिम लाइनमा लेखेका छन्, ‘मैले केही अघि धन्यवादसहितको टमको हाँसेको फोटो राखेर पठाएको चिठी पाएँ, चिठीमा लेखिएको थियो ‘धन्यवाद डा. ब्रुस, तपाईंको अँगालो र स्पर्शका लागि ।’

यसरी डा. ब्रुसले थुप्रै किताबहरू केसका बारेमा लेखेका छन् । यो किताबले मलाई धेरै कुरा सिकायो । माया, स्नेह र स्पर्शले बालबालिकालाई मात्र होइन, वयस्कलाई पनि प्रभाव पार्छ । पश्चिमी समाजमा अँगालो मार्ने कुरा त्यति राम्रो मानिँदैन, तर पूर्वीय समाजमा चाँहि साथीहरु भेट्दा, नाता कुटुम्ब भेट्दा मायाले धाप मार्ने, अँगालो मार्ने आदि प्रचलन छ । त्यसैगरी कोही विरामी पर्दा गएर हेर्ने, उससँग कुरा गर्ने, सान्त्वनाका शब्द भन्ने, हात समातेर कुरा गर्ने चलन पनि हामीकहाँ पर्याप्त छ । यी कुराहरुले हाम्रो शारिरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पारेका हुन्छन् ।

तर, स्पर्श, अँगालो आदिले असर पार्छन् भन्नुको अर्थ औषधि नगरेर बस्नु, डाक्टरको सल्लाह नलिनु भन्ने चाँहि पक्कै होइन । यस लेखको उद्देश्य हाम्रा लागि स्पर्श र माया, स्नेह र संवेदना पनि निकै महत्वपूर्ण छ भन्ने देखाउनु मात्र हो ।

आइतबार, १८ माघ, २०७७, दिउँसोको ०१:१८ बजे

सम्बन्धित खवर