पुनर्जन्म

    सुरेन्द्र प्रसाद लामिछाने
रुघा मर्की र खोकीले सिकिस्त भए झैँ भयो
गति बिग्रेछ जिब्रोको खानाको संवाद नै गयो।
खस्खस गर्छ घाँटीमा गतिलै बस्तु पो छ कि?
निस्किदैन कतै पाखा जिब्रो पो बरु खस्छ कि!
तातियो शरीर सारा पसिना पसिना भयो
पसिनासँग हड्डीको तागत मिसियो गयो।
तैपनि भार भारी छ गर्दा शरीर हल्चल
एकान्तबासमा आफैं आफूभित्रको खल्बल।।
सञ्चार मेडिया सुन्दा मनको शक्ति भाग्दथ्यो
निस्किंदैछन् कि आँखाका दाना बाहिर लाग्दथ्यो।
फोनमा भिडियो वार्ता शुभचिन्तकका कुरा
सुन्दा सुनाउँदा लाग्थ्यो भएँछु बिचरा बरा!!
इष्ट मित्र सबै नाता लागि परे जतातता
जडिबुटी नयाँ नौला पाइन्थे ती कताकता?
पकाएर छिटो मीठो छोराछोरी र श्रीमती
ल्याइदिन्थे “लु खानू त” गहमा देख्छु पीर- ती!!
सोध्नेलाई म भन्दथें आराम छु सबै दिन
जे जे भो भित्रभित्रै भो मनोबल घटाईंन।
आराम छु म सन्चै छु भन्दै नि खान छाडिनँ
मुसुक्क मुस्कुराईन्थ्यो पीडाका भाव बाँडिन।
हैजा हो कोरना रोग बाध्यता चेनब्रेक हो
समाज किन हो निन्दा?हटोस तुच्छ बिवेक त्यो।
तोडियो दुई हप्तामा होम आइसुलेसन
पुनर्जन्म भएजस्तै लाग्दैछ किन हो किन?
      000
सोमबार, १७ जेठ, २०७८, दिउँसोको १२:५२ बजे

सम्बन्धित खवर