झापामा दुई सवारी दुर्घटना : एकको मृत्यु, ४ जना घाइते

झापा /   झापामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मेचीनगरमा सिटी सफारीको ठक्करबाट सोही नगरपालिका–७ निवासी ६१ वर्षीय नन्दलाल अधिकारीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगर–६ को पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६२५९ नम्बरको सफारीले हिँडिरहेका अधिकारीलाई सोमबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट सिकिस्त उनलाई तत्काल उपचारका लागि धुलाबारी अस्पताल लगिएको थियो। उपचारको क्रममा सोमबार राति ८ बजे उनको मृत्यु भएको थियो।

पैदल हिँडिरहेका अधिकारीले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सिटी सफारी र चालक ३६ वर्षीय गंगाराम निरौलालाई नियन्त्रणमा लिएको छ। चालकसँग सफारीको कागजपत्र र चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ।

त्यस्तै, मंगलबार बिहान बसको ठक्करबाट मेचीनगरमा एक जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित कालीखोला छेउ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ०१ ००१ ख ३४२३ नम्बरको बसले सडकमा हिँडिरहेका मेचीनगर–७ का ३९ वर्षीय कृष्ण गुरुङलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते गुरुङलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन्।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प २३६२ नम्बरको मोटरसाइकलले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा भारत किशनगञ्ज जिल्ला लक्ष्मीपुर ग्राम पञ्चायत–२ घर भई हाल शिवसताक्षी–१० माइधारमा बस्ने सन्तुहाट मियाको १७ वर्षीय छोरा अहिम प्राइम मिया घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–९ निवासी ४६ वर्षीय दिलकुमार खत्री र मोटरसाइकलमा उनको पछाडी बसेकी ३३ वर्षीया सुशीला मानन्धर लड्दा उनीहरू पनि घाइते भएका थिए। मोटरसाइकल र साइकललाई अस्थायी प्रहरी चौकी माइधारले नियन्त्रणमा लिएको छ।

मङ्गलबार, १५ भदौ, २०७८, रातीको ०९:३० बजे

सम्बन्धित खवर