धान बिमाको ६५ वटा बिमालेख

   काठमाडौं / असोज पहिलो साताको बेमौसमी वर्षाका कारण अर्बौं मूल्यको धानबालीमा क्षति पुग्यो। त्यसमध्ये अत्यन्तै कमले मात्र धानको बिमा गरेको पाइएको छ । बिमा समितिको तथ्यांकअनुसार धान बिमाको ६५ वटा बिमालेख मात्रै जारी भएको छ। यसमध्ये १८ बिमालेखको दाबी परेको छ।

धानबाली पूर्ण क्षति भएको दाबीसहित सुनसरीबाट १० वटा दाबी परेको छ। २० लाख १ हजार माग दाबी गरिएको छ। उनीहरूले द ओरियन्टल इन्स्योरेन्समा बिमा गरेका थिए। ओरियन्टलले १६ वटा बिमालेख बिक्री गरेको थियो। आठ वटा बिमालेख जारी गरेको हिमालयन जनरल इन्स्योरेन्समा दाबी परेको छ। मोरङका बिमितले आंशिक क्षतिअन्तर्गत ६ लाख ७५ हजार रुपैयाँ दाबी गरेका हुन्।

२० निर्जीवन बिमा कम्पनीमध्ये ७ ले मात्रै यस्तो बिमालेख जारी गरेका छन्। सगरमाथा, द ओरियन्टल, नेपाल इन्स्योरेन्स, हिमालयन जनरल, नेको इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र अजोड छन्।

सबैभन्दा बढी धानको बिमालेख नेपाल इन्स्योरेन्सले बिक्री गरेको छ। उसले बिमितबाट १ करोड ३ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ। तर नेपाल इन्स्योरेन्सका कुनै बिमितले दाबी गरेका छैनन्।

धानको बिमा अत्यन्तै कम भएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री बताउँछन्। किसान समक्ष यो बिमाको बारेमा जनचेतना नै नपुगेको उनले बताए। ‘यो कार्यक्रम सरकारले ल्याएको हो। प्रभावकारी बनाउन सरकार पनि लाग्नुपर्छ,’ उनले भने, ‘पहुँच नबढ्नुमा कम्पनीको कमजोरी होइन।’ धानको बिमा गर्दा प्राविधिक विश्लेषण गर्ने जनशक्तिको कमी रहेको उनले बताए। परेको दाबीलाई प्रक्रिया पुर्‍याएर भुक्तानी दिने उनले जानकारी दिए।

सञ्चालनमा रहेका सबै कम्पनीले धान बालीको बिमा गरेका छैनन्। यसमा किसानको पनि पुग्न सकेको छैन। त्यसैले कम किसान मात्रै धान बिमामा आकर्षित भएका छन्। प्रक्रिया झन्झटिलो रहेको भन्दै अधिकांश कम्पनीले धान बिमामा चासो नदेखाएको समतिकिो कृषि तथा पशुपंक्षी बिमा शाखा प्रमुख पुनम ज्ञवाली श्रेष्ठ बताउँछिन्। ‘कागज जुटाउनुपर्ने झन्झट भएकाले पनि बिमा गर्ने नबढेका हुन्,’ श्रेष्ठ भन्छिन्, ‘धेरैले पशु बिमा गरेका छन्। धानको गरेका छैनन्।’

कतिपयमा जनचेतना र कतिपयमा कम्पनी नपुगेको उनले बताइन् । धान बिमा गरेका कम्पनीले २ करोड ८० लाख ४० हजार प्रिमियम संकलन गरेका छन्।

धानबालीअन्तर्गत दुई पोलिसी छन्। चैते धान बाली सामूहिक र लागतका आधारमा धानबाली बिमालेख। बिमा अवधिभित्र हानि–नोक्सानी भएमा लागत मूल्यअनुसारको क्षतिपूर्ति रकम भुक्तानी दिने व्यवस्था छ। लागतका आधारमा गरेको धान बिमामा आगलागी, चट्याङ, भूकम्प, बाढी/डुबान/खडेरी, पहिरो, आँधीबेहरी, असिना, हिउँ वा तुषारो, आकस्मिक/दुर्घटनाजन्य कारण, किरा/रोगबाट नोक्सानी भएमा कम्पनीले बिमांकको ९० प्रतिशत भुक्तानी गर्छ। चैते धान बिमा गरेका किसानले वास्तविक क्षतिको बिमा दाबिमा ब्यवस्था भएअनुसार पाउने व्यवस्था छ।

बिमा समितिले कृषि तथा पशुपंक्षीसँगसम्बन्धी २५ बिमालेख जारी गरेको छ। यसमा सरकारले ८० प्रतिशतसम्मको अनुदान दिएको छ। सरकारले बेमौसमी वर्षाका कारण धानको क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड– २०७८ नै बनाएको थियो। मापदण्डमा उत्पादन लागतको २० देखि ६५ प्रतिशतसम्म राहत दिने तर राहत रकम ५५ हजार रुपैयाँभन्दा बढी नहुने मापदण्डमा उल्लेख छ। ‘क्षति भएको धानबाली बिमा गरिएको भएमा राहतमा समेटिँदैन। तर यस्तो रकम ५५ हजारभन्दा कम भएमा नपुग रकम भने उपलब्ध गराइनेछ।’ मापदण्डमा भनिएको छ।

शुक्रबार, १६ पुष, २०७८, बिहानको ११:५७ बजे

सम्बन्धित खवर