राष्ट्रिय प्रसारण प्रणालीमा जाेडियाे सन्दकपुर, 

प्रदेश–१ को प्रमुख पर्यटकीय स्थल इलामको सन्दकपुर गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत सेवा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गरेर यस गाउँपालिकामा विद्युत सेवा पुर्याएकाे हाे । प्राधिकरणले साढे ८ किलाेमिटर लामाे प्रसारण लाइन विस्तार गरेर गाउँपालिकामा विद्युतीकरण गरेकाे हाे । विद्युतीकरणपछि स्थानीय ५ सय परिवार विद्युत सेवाबाट लाभान्वित भएकाे प्राधिकरण इलाम वितरण केन्द्र प्रमुख पंकज गाेइतले बताए । ‘गाउँपालिकामा विद्युतीकरण गर्न गत वर्षदेखि लाइन विस्तारकाे काम सुरु भएकाे थियाे, ’ उनले भने, ‘काम सम्पन्न भई शनिबारदेखि विद्युत सेवा पुगेकाे छ ।’  शाखेजुङ्ग फिडरअन्तर्गत देउराली खोर्सानेटारदेखि समुन्द्री सतहबाट सबैभन्दा बढी उचाईकाे स्थानसम्म लाइन विस्तार गरेकाे उनले बताए । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरि विद्युतीकरणकाे काम प्राथमिकताका साथ सयममा सम्पन्न गरेको पनि उनले बताए । वार्षिक डेढ लाख बढी पर्यटक पुग्ने सन्दकपुरमा पर्यटन वर्ष सुरु हुनुअघि विद्युत सेवा विस्तार भएपछि स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएकाे प्राधिकरणले जनाएकाे छ । विद्युत सेवा पुगेपछि सबै वडा टुकीमुक्त बनाउने याेजना रहेकाे गाउँपालिकाका अध्यक्षा उदय राईले बताए । उनका अनुसार विद्युत सेवा पर्यटकलाई सुविधा हुने गरी प्राधिकरणले सबै वडामा वितरण लाइन विस्तार गर्न सुरु गरेकाे छ । उपभाेक्तालाई विद्युत मिटर वितरण गर्न सुरु गरिएकाे छ । गाउँपालिकासम्म प्रसारण लाइन विस्तार गर्न २ करोड रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । उनका अनुसार प्रसारण लाइनमा वितरण केन्द्र र गाउँपालिकाकाे संयुक्त लगानीमा निर्माण सम्पन्न भएकाे हाे । आन्तरिक तथा बाह्य पर्यटककाे घुईंचाे लाग्ने सन्दकपुरमा राष्ट्रिय प्रसारणकाे विद्युत सेवा विस्तार गर्न स्थानीयले जाेडदार माग गर्दै आएका थिए । भारतीय सीमा क्षेत्रमा अवस्थित सन्दकपुर समुन्द्री सतहबाट ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको छ ।

Urja khabar
मङ्गलबार, १५ पुष, २०७६, साँझको ०५:१० बजे

सम्बन्धित खवर