काठमाडौं, बैशाख १३ / सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध कारोबार बढ्छ भन्ने धारणालाई एक अध्ययन गलत ठहर गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनले नेपालमा ०.३३ प्रतिशत मात्र अवैध चुरोट फेला परेको देखाएको हो ।

प्रतिष्ठानले हिमाल पहाड तराई गरी ११ जिल्लामा ४३०० सय भन्दा बढीमा जाँच गरिएका चुरोटका प्याकेटहरू मध्ये ०.३३ प्रतिशत अवैध चुरोट भएको फेला परेको जनाएको छ । ती अवैध चुरोटमध्ये पनि प्रायः जसो इन्डोनेसियामा उत्पादित भएको पाइएको छ । ती चुरोटको प्याकेट धेरैजसो नेपाल भारतको सीमा क्षेत्रभन्दा टाढा काठमाडौँ र पोखरामा भेटिएका थिए । ती प्याकेटमा आन्तरिक राजस्व विभागबाट प्रमाणिक अन्त शुल्क स्टिकर टाँसिएको थिएन ।

प्रतिष्ठानका महासचिव डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा थप कर वृद्धि गर्दा अवैध व्यापार बढ्छ भन्ने नीति निर्माण तह बस्ने व्यक्तिहरूमा धारणा रहेको सुनाए । तर नेपालमा सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दैमा अवैध कारोबार बढ्छ भन्ने धारणालाई यस अध्ययनले मेटाइदिएको पनि उनले दाबी गरे । सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउनका थप कर वृद्धि गराउन अति आवश्यक रहेको उनी बताउँछन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा चुरोटको अवैध व्यापारको स्तर जाँच्नको लागि देशव्यापी गरेको सो अध्ययनले सीमा नाका खुल्ला भएकाले नेपालले कर बढ्यो भने भारतको चुरोटभन्दा महँगो भई अवैध रूपमा उताबाट नेपाल भित्रने तर्कलाई अध्ययनले गलत साबित गरेको उनले बताए ।

अवैध हुनको जाँचको लागि देशभरबाट ४८६३ प्याकहरूमध्ये खुद्रा बिक्रेताहरूबाट ४३०७, सडकबाट १६६ र ३९० प्याकेटका फोटोहरू सङ्कलन गरेको थियो । अवैध हुनको लागि प्राथमिक मापदण्ड आन्तरिक राजस्व विभागबाट प्रमाणिक अन्तःशुल्क स्टिकरलाई मानिएको थियो ।

नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई कम गर्नका लागि दरमा वृद्धि गर्नुको विकल्प नभएको उनले बताए । सरकारले अन्य देशको तुलनामा न्यून मात्रा कर बढाउँदा हाल नेपालमा ३२ प्रतिशत जनताले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका पाइएको र दिनप्रतिदिन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् बाबुराम मरासिनीले पनि नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको दर कम गर्नका लागि सरकारले करमा वृद्धि गर्नुपर्ने जोड छिन् । उनले भने, ‘सुर्तीजन्य पदार्थ प्रयोग गर्ने तर गरे अव कसरी नयाँ युवापिढीलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट जोगाउने तर्फ ध्यान दिनुपर्छ । धूम्रपान प्रयोग नगरे पनि धूम्रपान गर्ने घरपरिवारका सदस्यका नजिकैका मानिसमा समेत सुर्तीजन्य पदार्थबाट लाग्ने रोगको जोखिम बढेको छ ।’

Facebook Comments Box