झापा / डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा क्षेत्री रहेका छन्। भट्टराई स्वास्थ्य कार्यालय भद्रपुरका सातौँ तहका परिवार नियोजन अधिकृत हुन् ।
श्रीमती मित्रा भट्टराईको खुट्टामा चोट लागेपछि उनको उपचार गराउन भदौको पहिलो साता भट्टराई काठमाडौं गएका थिए । झापा ओहोरदोहोर गरिरहेकी उनकी छोरीलाई त्यही बेला डेंगु संक्रमण पुष्टि भएको थियो । काठमाडौंमा पढिरहेकी छोरीलाई डेंगु भएपछि उनी फेरि दसैंमा काठमाडौं गएका थिए । उनलाई उतैनै डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहेका उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए । सुगर र मुटुको समस्या भएका भट्टराईलाई डेंगुले संक्रमित बनाएको उनले बताए । उनी कुल वंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष रहेका थिए।
त्यस्तै बिर्तामोड–३ निवासी क्षेत्रीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । काठमाडौंको सरस्वती क्याम्पस लाइब्रेरी शाखामा कार्यरत छेत्रीलाई डेंगुको लक्षण देखिएको थियो। काठमाडौंमा डेंगुको लक्षण देखिएका उनलाई फूलपातीका दिन झापा ल्याई अस्पताल भर्ना गरिएको थियो ।
कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि उनको मङ्गलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments Box