३ पुस, काठमाडौं / तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्य टिमबीचको प्रतिस्पर्धा हेर्न विश्वभरका फुटबल समर्थकहरू पर्खिरहेका छन् ।

के लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि २३ वर्षीय किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्लान् ।

फाइनलअघि यी दुई खेलाडीकै वरपर रहेर धेरै अड्कलबाजीहरु भइरहेका छन् । मेसी आफ्नो करियरको उत्तरार्धमा छन् भने एमबाप्पे मेसी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टारको रुपमा उदाइरहेका छन् ।
विश्वकप कसले जित्ला त ? अर्जेन्टिना वा फ्रान्स, मेसी वा एमबाप्पे । त्यसका लागि फाइनल खेलको अन्तिम हुसिल बज्ने बेलासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

अर्जेन्टिना र फ्रान्स जसले जिते पनि विश्वकपमा केही कीर्तिमानहरु बन्ने पक्का छ । अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ र मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना । यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।

फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो । यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् ।

यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।

साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

१९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । मेसीको अन्तिम विश्वकप जित्नका लागि अर्जेन्टाइन टिम अहिले एकजुट भएको छ ।

पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ । फाइनलअघि अर्जेन्टिनाका सबै खेलाडी उपलब्ध छन् । मार्कुस अकुना र गोन्जालो मोनिटेल फाइनलका लागि उपलब्ध हुनेछन् भने एन्जल डि मारिया पनि फाइनलका लागि तयार छन् ।

फ्रान्सलाई भने केही खेलाडीलाई फ्लु लागेकोले तनाव छ । डिफेण्डर डायोट उपामेकानो र मिडफिल्डर एड्रिएन राबिओटले सेमिफाइनल खेलेका थिएनन् । उनीहरु रिकभर भइसकेको रिपोर्ट छ । तर राफेल भरान, किंग्सले कोमन र इब्राहिम कोनाटेले फ्लुका कारण प्रशिक्षण गरेका थिएनन् । उनी फाइनल खेलबाट आउट भइसकेका छैनन् तर खेल्ने नखेल्ने निश्चित भने छैन । प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूले कुनै दबाब नलिएको र फाइनलका लागि तयार रहेको बताएका छन् ।

Facebook Comments Box