दमक / सरकारले हात्तीपाइले रोग प्रभावित झापा सहित १५ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ । ‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्ने मन्त्रालयको भनाइ छ ।
हात्तीपाइलेविरुद्धको औषधि सेवनले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्छ । दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खान नहुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङ,झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा यो अभियान शुरु हुन लागेको हो ।

Facebook Comments Box