विराटनगर / कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अब अन्त्य भएको छ ।
प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि सम्बन्धीत कार्यक्षेत्रको जिल्लास्थित वन कार्यालयबाटै हुने गरि निर्णय गरेको छ ।

उक्त निर्णयले विकट पहाडी जिल्लाको पर्यटन योजनाका उपभोक्ता समितिलाई सहज हुनेछ । प्रदेशका पर्यटनमन्त्री जीवन आचार्यले योजना सम्झौताका लागि सम्बन्धित जिल्लाका वन डिभिजन कार्यालयले सहजीकरण गर्नुपर्ने निर्णय गरेका छन् ।

यस्तै पर्यटन मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना स्वीकृत भइसकेका तर सम्झौता हुन बाँकी योजनाहरु समयमै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्तभित्रको समयसीमा समेत तोकेको छ । पर्यटनमन्त्री आचार्य केही समयअघि प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए । भ्रमणका क्रममा पर्यटनसँग सम्बन्धित योजना सम्झौता गर्न नागरिकले सास्ती भोग्नुपरेको गुनासो गरेका थिए । सोही गुनासो सम्बोधन गर्न यो निर्णय गरिएको मन्त्री आचार्यको स्वकीय सचिव इश्वरी आचार्यले जानकारी दिए ।

Facebook Comments Box