आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ ।

यसअघि चैत १५ देखि बिक्री गर्ने भनिए पनि कुनै कक्षाको पुस्तक सेट पूरा हुन बाँकी भएकोले नौ दिन पछि सार्नुपरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाए अनुसार ९६ प्रतिशत प्रकाशनको काम सकेको छ । बाँकी रहेको पुस्तक चैत २५ गतेभित्र सक्ने केन्द्रको भनाइ छ ।

बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाइसकिएको र शाखा कार्यालयहरुबाट देशभरका एक हजार २६७ बिक्रेताले २४ गतेबाट लिएर विद्यालयलाई बेच्नेछन् ।
वैशाख १ गतेदेखि १५ गतेसम्म भर्ना अभियान भएकोले उक्त समयवधिभित्र बालबालिकाको हातमा पुस्तक पुगिसक्ने उनले जिकिर गरे ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने बताए । उनले भने, ‘जनक शिक्षाले प्रकाशन गर्ने पुस्तक केही प्रतिशत बाँकी छ । एकदम थोरै भएकोले चाँडै सकिन्छ । सरकारको योजना अनुसार विद्यार्थीले समयमा नै पुस्तक पाउँछन् ।’

आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार निजी प्रकाशकले ५ कक्षाको र जनक शिक्षा सामग्री केन्द्रले ८ र १० को पुस्तक प्रकाशन गर्नेछ ।

Facebook Comments Box