इलाम / दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो। पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रह्यो।

खेलको छैटौं मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए। २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाए।

४५ औं मिनेटमा निश्चल बस्नेतले अग्रता घटाए। फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औं मिनेटमा मैदान बाहिरिए। १० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३—१ बनाए।

दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरे पनि जितका लागि पर्याप्त भएन। जितसँगै फिक्कलले कम्तिमा ८१ हजार सुरक्षित गरेको छ।

२ गोलकर्ता शेखर खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद २ हजार प्राप्त गरे। दमकले आयोजक देउराली स्पोर्टिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।

दोश्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। बिर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमिफाइनल पुगेको हो।

वैशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार नगद प्राप्त गर्नेछ। फाइनलअघि चैत ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण खेल हुनेछ। त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दलबीच मैत्रीपूर्ण खेल हुनेछ।

Facebook Comments Box