आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

Facebook Comments Box