ताप्लेजुङ ,४ बैशाख /  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सङ्घीयताको नाममा तीन तह आवश्यक नभएको बताउँदै नेपालजस्तो सानो देशले आर्थिक व्यवस्थापन धान्न नसक्ने हुँदा प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन् ।
तीन तहको सरकार खारेज गर्नुपर्ने बताउदै देशको द्वन्द्वको कारण नै प्रदेश तह हुनसक्ने भन्दै खारेज गर्नु उपयुक्त हुने उनको भनाई थियो । कार्यकर्ता भेटघाटका क्रममा ताप्लेजुङ आएका लिङ्देनले सदरमुकाम फुङ्लिङमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै देशको आर्थिक अवस्था, भ्रष्टाचार वृद्धिका घटना, नामाकरणको विषयमा भइरहेको आन्दोलनका गतिविधिलगायत कारणले प्रदेश तह आवश्यक नभएको पुष्टि गरेको दावी गरे ।

उनले देशको अर्थतन्त्र र विकासको गतिलाई बढवा दिनका लागि केन्द्र र स्थानीय तहलाई बलियो बनाए पुग्ने उल्लेख गरे ।
यस्तै, अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्था दोषी रहेको पनि औँल्याए । उनले राजनीतिक भागबण्डाकै कारण प्रधान न्यायाधीशलगायत कर्मचारी नियुक्ति हुन नसकेको बताए । अहिलेको व्यवस्था वा भागबण्डामा कर्मचारी नियुक्ति हुने संस्कारले सुशासन कायम नहुने, भ्रष्टाचार नियन्त्रण नहुनेजस्ता अवस्था रहेको उनको भनाई थियो । त्यस्तै एक अर्को प्रसङ्गमा वर्तमान सरकार स्वार्थको गठजोड भएकाले कुनैपनि बेला सरकार ढल्नसक्ने उनको दाबी थियो । सत्ता साझेदार दलबीच आफ्नो स्वार्थ पुरा नहुने अवस्थामा समस्या आउनेभन्दै सरकार ढल्नसक्ने खतरा रहेको उनको तर्क छ ।
हाल संसदमा दर्ता भएको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक सबैभन्दा पीडित जनताको पक्षमा नभएको बताए । उनले द्वन्द्वका कारण सबैभन्दा बढी सर्वसाधारण जनता पीडित भएकोभन्दै विधेयक तत्कालीन द्वन्द्वरत पक्ष र सत्ता पक्षलाई मात्र फाइदा हुने खालको भएकाले तेस्रो पक्ष जनतालाई फाइदा हुनेगरीको आउनुपर्नेभन्दै राप्रपाले आवाज उठाइरहेको स्पष्ट पारे ।

Facebook Comments Box