‘कोशी प्रदेश’ नाम खारेज माग राख्दै गरिएको आन्दोलनका क्रममा प्रहरीको कुटाइका कारण निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ।
गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँग झडप हुँदा लाजेहाङ घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। उपचारका क्रममा गत चैत १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको थियो। लाजेहाङको शव झण्डै एक महिनादेखि मर्चरीमै राखिएको छ। लामो समयसम्म शव राख्दा सड्ने जोखिम भएपछि आन्दोलनरत पक्ष र परिवारजनलाई अन्त्येष्टि गर्नुपर्ने दबाब परेको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ भने प्रदेश सरकारले पनि उनको परिवारजनलाई ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमका अनुसार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको बैठकले सहिद लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर वैशाख ९ गते शनिबार बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

अध्यक्ष इजमले दाहसंस्कारअघि शव यात्रा गरिने जानकारी दिए। ‘शनिबार बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ’, इजमले भने,‘दिउँसो साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा भवन परिक्रमा गराउँदै दिउँसो साढे २ बजे सहिद लाजेहाङको घर बेलबारीमा शव पुर्‍याइनेछ।’ अपराह्न ४ बजे शवको अन्तिम संस्कार गरिने उनले जानकारी दिए।

यसैगरी संघर्ष समितिले वैशाख १० गते इटहरीमा विरोध सभा गर्ने र ११ गते विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रर्दशन गर्ने निर्णय पनि गरेको छ। मोरङको बेलबारी घर भएका लाजेहाङ धरान बसेर राजनीतिमा सक्रिय थिए। उनी संघीय लिम्बुवान राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टिएर्सको केन्द्रीय सहकमान्डर थिए।

उनको निधनपछि पहिचान पक्षधर तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन थप चर्काएको थियो। यस क्रममा कोशी प्रदेश लेखिएको बोर्ड हटाउने, ब्यानर, कागजपत्र तथा स्टाम्प च्यात्ने, जलाउनेलगायत गतिविधिले प्रदेश अशान्त बन्दै गएको थियो। चौतर्फी विरोध र दबाब परेपछि सरकारले लाजेहाङलाई चैत तेस्रो साता सहिद घोषणा गरेको हो।

Facebook Comments Box