सरकारले राँगा र भैसीको विषयमा सामाजिक सञ्जालदेखि सदनसम्म ब्यापक आलोचना खेप्नुपर्यो । तर यसको अथार्थ के हो भन्ने बुझ्नतिर भने सचेत मानिसले पनि ध्यान दिएनन ।   प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दिने भनेको १५ वटा राँगाबाट वार्षिक डेढ लाख डोज वीर्य उत्पादन हुनुका साथै कम्तिमा १ लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार यसरी प्राप्त राँगाहरूलाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू (पोखरा, नेपालगञ्ज र लाहान)मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरिने भएको हो ।
मन्त्रालयका अनुसार भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायतास्वरूप निःशुल्क उपलब्ध गराइएको हो ।

यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक र अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजननमानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध भएको मन्त्रालयले प्रष्ट्याएको छ ।

तर जुन २०२० मा भारतको मन्त्रालयलाई उच्च प्रजननमान भएका बीउ राँगो आपूर्तिका लागि सरकारबाट प्रस्ताव गरिएकामा नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिमको १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू भारतले उपलब्ध गराउन लागेको प्रवक्ता सञ्जेलले बताए ।

नेपालस्थित भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपाललाई १५ वटा उच्च प्रजननमानका मुर्रा राँगो उपलब्ध गराइने जनाएको थियो ।
नेपालमा दूध दिने भैँसी १६ लाख ३० हजार: वार्षिक १४ लाख १९ हजार मेट्रिक टन भैँसीको दूध उत्पादन
नेपालमा दूध दिने भैँसीको संख्या १६ लाख ३० हजार ६ सय ४२ रहेको छ । यो कृषि तथा पशुपन्छी डायरी २०२३ मा सार्वजनिक तथ्यांक हो ।
नेपालमा पालन गरिँदै आएका स्थानीय जातका भैँसीहरूमा लिमे, पारकोटे र गड्डी रहेका छन् भने उन्नत जातका भैँसीमा मुर्रा र निलिराभी रहेका छन् ।
तर नेपालमा अहिले मुर्राको क्रस भैँसी प्रशस्त मात्रामा पालन गरिँदै आएको छ । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किएसँगै भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगा उपहार दिने भारतीय दूतावासले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा नेपाललाई १५ वटा उच्च प्रजनन मानका मुर्रा राँगो उपलब्ध गराइने बताइएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । जसमा भारतबाट नै धेरै भैँसीको आयात गरिँदै आएको छ ।

 

Facebook Comments Box