विराटनगर/ सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् ।

विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरु छठ पुजाको लागि सिंगारिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

अहिले जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन् । पूजा सामग्रीहरुले किनार भरिएका छन् भने छठ घाट सफासुघ्घर गरी विशेषरूपमा सजाइएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् र साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् ।

आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ ।
केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ ।

Facebook Comments Box