त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट ल्याइने अवैध सुन विमानस्थलको भन्सार कार्यालयले जफत गर्छ । यस्तै, देशका अन्य भन्सार नाकाबाट ल्याइएको सुन समेत सोही नाकामा अवस्थित भन्सार कार्यालयले पक्राउ तथा जफत गर्ने गर्छ । तर, भन्सार छलेर अवैधरुपमा देशको सीमा भित्र छिरेको सुन भने नेपाल प्रहरीको विभिन्न निकायले पक्राउ तथा जफत गर्दै आइरहेको छ । यस्तै, समय–समयमा अध्यागमन विभागले समेत अवैधरुपमा नेपाल भित्रिएका सुन जफत गर्ने गर्छ ।

केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ । अवैधरुपमा आयात गरिएको र भ्रष्टाचार भएको सुन वा चाँदी सँधै टक्सार विभागले प्राप्त गर्छ र सोबराबरको रकम राज्यलाई भन्सार विभागमार्फत जम्मा गरिदिन्छ ।
यसका साथै, कर छली वा भ्रष्टाचार गरेर जम्मा गरिएको सुन समेत प्रहरीले जफत गर्ने गर्छ । यसरी भन्सार कार्यालय, अध्यागमन विभाग र नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न स्थानबाट सुन जफत गरेपछि अवैध ओसारपसार गर्ने, अवैध कारोबार गर्ने वा अवैधरुपमा सुन राख्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा पर्छ । विभिन्न स्थानमा जफत गरिएको सबै सुन भन्सार कार्यालयमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरीले हेर्छ ।

अदालतले अवैधरुपमा ल्याएको सुन वा भ्रष्टाचारको भनेर फैसला गरेपछि भन्सार विभागले उक्त सुन वा चाँदीलाई आफ्नो सम्पत्तिका रुपमा प्रयोग गर्न पाउने बाटो खुल्छ । र, भन्सार विभागले उक्त सुनका सुद्धताका आधारमा तत्कालीन समयको बजार मूल्यअनुसार नेपाल राष्ट्र विभागलाई हस्तान्तरण गर्छ । र, केन्द्रीय बैंकले तत्कालीन प्रचलित मूल्यअनुसार उक्त सुन वा चाँदीको मूल्य विभागको खातामा जम्मा गरिदिन्छ । सुन वा चाँदी राष्ट्र बैंकले लिएबापत भन्सार विभागको खातामा जम्मा गरिएको रकम राजश्वका रुपमा संघीय सरकारले प्रयोग गर्ने भन्सार अधिकृत खनाल बताउँछन् ।

केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ । अवैधरुपमा आयात गरिएको र भ्रष्टाचार भएको सुन वा चाँदी सँधै टक्सार विभागले प्राप्त गर्छ र सोबराबरको रकम राज्यलाई भन्सार विभागमार्फत जम्मा गरिदिन्छ ।

५ वर्षमा राष्ट्र बैंकले लियो ६०० किलो सुन

केन्द्रीय बैंकको टक्सार विभागले पछिल्लो ५ वर्षको अवधिमा ६०१ किलो सुन प्राप्त गरेको छ । नेपाल सरकारका विभिन्न निकायले विभिन्न समयमा जफत गरेको उक्त सुन राष्ट्र बैंकहुँदै टक्सार विभागले प्राप्त गर्ने गर्छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालू आर्थिक वर्षको हालसम्म टक्सार विभागले उक्त परिमाणको सुन प्राप्त गरेको महाशाखाका निर्देशक सत्यन्द्रराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘५ वर्षको अवधिमा ५९२ किलोग्राम सुन र ४८० किलोग्राम चाँदी प्राप्त गरेको छ । यस्तै, चालू वर्षको हालसम्मको अवधिमा साढे ९ किलोग्राम सुन र १५४ किलोग्राम चाँदी प्राप्त भएको छ ।’ महाशाखाले यसरी प्राप्त गरेको सुन प्रत्येक दसैँमा सुन र चाँदीका असर्फी बनाएर बजारमा बिक्री वितरण गर्ने गरेको सुवेदीको भनाइ छ । तर, असर्फी बनाएकै भरमा ठुलो मात्रामा आउने सुनको मौज्दात सकिँदैन । सोही कारण, नेपाल सरकार वा सरकारका अन्य निकायले आवश्यकताअनुसार किन्ने समेत गर्छन् ।

‘कुनै मन्दिरमा सुनको गजुर वा सुनको प्रयोग गर्नुपरेमा टक्सार महाशाखामार्फत लिन्छन् । यस्तै, बजारमा व्यापारीलाई समेत सुन बिक्री गरिन्छ,’ सुवेदीले भने ।

पुसमा जफत भएको १९ किलोग्राम सुन आउनै बाँकी

विमानस्थलको भन्सार कार्यालयले पुस ८ जफत गरेको किलोग्राम सुन भने टक्सार विभागलाई प्राप्त भइसकेको छैन । उक्त सुन यति बेला अदालती प्रक्रियामा रहेका कारण विभागमा आउन नसकेको हो । विमानस्थल भन्सार कार्यालयका अधिकृत खनाल अदालतको फैसलापछि मात्रै केन्द्रीय बैंकले भन्सार कार्यालयसँग सुन लिन पाउने बताउँछन् । फैसला नभएसम्म उक्त सुन अचल सम्पत्तिका रुपमा रहन्छ । यस्तै, आज जफत भएको ९ किलो सुन समेत अदालती फैसलापछि मात्रै टक्सार विभागले प्रचलित बजार मूल्य अनुसार लिने बताइएको छ ।

Facebook Comments Box