म महिनावारी हुँदा तिमीले प्याड
वा महिनावारी कप ल्याइदिँदा
मैले बच्चा जन्माउँदा थाङ्ना तिमीले धोइदिँदा
स्तनपान मैले गराए पनि
कचौरामा दूध हालेर तिमीले ख्वाइदिँदा
समानता र समताका साथ तिमी मसँगै हिँड्दा
नारी दिवस आए झैँ लाग्छ।

म अफिसबाट ढिला घर आउँदा
तिमीले भान्सा तयार गर्दा
मैले भाँडा माझ्दै गर्दा
तिमीले नानी सुताइदिँदा
भयरहित वातावरणमा
ढुक्कका साथ हिँड्न पाउँदा
मेरो आवाज मेरो विचार सुनिदिँदा
नारी दिवस आए झैँ लाग्छ।

चुलो चौको र बहिरको काम मिलिजुली गर्दा
बराबरी काम अनि जिम्मेवारी हुँदा
मैले स्कुल छोड्या बच्चा तिमीले लिन जाँदा
एक आपसका समस्यासँग मिलिजुली जुध्दा
नारी दिवस आए झैँ लाग्छ।

पति परमेश्वर होइन,
असल जीवनसाथी पाउँदा
तिम्रो खुट्टाको पानी होइन
तिम्रो हातको चिया पिउँदा
तिमीले आधा मैले आधा
घर व्यवहार सम्हाल्दा
तिम्रोमात्र स्वामित्व होइन
बराबरी हक र अधिकार लिएर जिउँदा
नारी दिवस आए झैँ लाग्छ।

हाम्रा छोरीचेलीहरु ढुक्कले हिँड्न पाउँदा
बलात्कारका घटनाहरु सुन्न नपाउँदा
अधिकारको उपभोग बराबरी गर्न पाउँदा
महिला हूँ भनेर गर्वका साथ जिउन पाउँदा
नारी दिवस आए झै लाग्छ।

Facebook Comments Box