स्कुले हाजिरी जवाफ प्रतियोगितामा
बालबालिकालाई बारम्बार सोधिने प्रश्न थियो
धरहरा कसले बनाएको?
धरहरा पहिले भीमले बनाए रे
अनि धरहरा जुद्धले पनि बनाए रे …

स्कुले पाठ्यपुस्तकमा त्यही पढियो
धरहरा बारे को पाठ कण्ठस्थ गरेर
परीक्षा पास गरियो, प्रमाणपत्र भेटियो
जागिर खाइयो, सरूवा र बढुवा पनि भइयो
त्यसैले मलाई धरहरा अत्यन्तै प्यारो लाग्छ …

अग्लो धरहरालाई कहिले नजिकैबाट
सुन्धारामा नै पुगेर हेरियो
कहिले टाढाबाट, कहिले माथि हवाई जहाजबाट
कहिले फोटोमा, कहिले टेलिभिजनको पर्दामा
धरहरालाई बरोबर भेटिरहेँ, लगातार देखिरहेँ …

पछिल्लो धरहराको असी वर्षे जीवनकालमा
मुलुक र विश्वमा धेरै कुराहरू भए
सैन्य विमान र ट्याङ्क चढेर संसारभर प्रजातन्त्र आयो
सत्तरी वर्षे सोभियततन्त्र भित्रभित्रै मक्किएर सेलायो
नारायणहिटीतन्त्र संसाँझै वंशनाश गरेर बिलायो …

आधा दशक अघि, फेरि महाभूकम्प आयो
पढेको, देखेको धरहरा गर्ल्यामगुर्लुम ढल्यो
मान्छेहरू बेहोस भए, बौरिए, धुलो टक्टक्याउँदै उठे
पहिलेभन्दा अग्लो धरहरा बनाउने कुरा गर्न थाले
नौ तले वा एघार तले हैन, बाइस तले बनाउने सल्लाह गरे

धरहराको रूप, रङ्ग कस्तो हुने भनेर चर्चा भयो
प्राविधिक र विज्ञहरूबीच बाक्लो संवाद भयो
संचारमाध्यममा नयाँ धरहराको प्रारूपहरू देखिन थाले
भोट माग्दा दलहरू पनि धरहरा बारे बोल्न थाले
नक्सा पास भयो, बाइस तले धरहरा बन्ने नै भयो …

यसपटक आफ्नै आँखाअघि धरहरा बन्न सुरू भयो
आम जनताले तिरेको करबाट रकम जुट्यो
कर्मठ कालिगढ र प्राविधिकहरूले बुद्धि र जुक्ति लगाए
जनप्रतिनिधि, प्रशासक र सुरक्षाकर्मी सबै, सबै लागिपरे
श्रमिकहरू अहोरात्र खटेर पसिना बगाए …

यसपटक धरहरा भीम र जुद्धले बनाएनन्
न त कुनै श्री ३ का महत्वाकांक्षीले नै बनाए
अब पाठ्यक्रममा जस्ताको तस्तै लेख्नुपर्छ, यथार्थ लेख्नुपर्छ
कसले रिवन काट्यो वा कसले स्वीच दबायो हैन
जुक्ति, बुद्धि, श्रम र स्रोत जुटाउनेहरूको भूमिका बारे लेख्नुपर्छ ……

बाइस तले नयाँ धरहरा झुल्कँदै छ
श्रम, सीप र प्रज्ञाको आकाश-मिलन हुँदैछ
राजधानी मात्र हैन तराई, पहाड र हिमाल हर्षित हुँदैछ
धरहरा निर्माण गर्नेहरूलाई सम्झनैपर्छ
नयाँ पुस्ताले धरहराको नयाँ पाठ पढ्नैपर्छ …

Facebook Comments Box