दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् ।
उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो । फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।
झमकको कृति पढिसकेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले जानकारी दिए । नेपालमा झै भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय हुने विश्वास उनको छ ।

केही अगाडि नै प्रदर्शन तयारीमा रहेको फिल्म कोरोना संक्रमण बढ्न थालेपछि रोकिएको थियो । फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचायको अभिनय छ ।

त्यस्तै सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको समेत अभिनय रहेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तिको संवाद छ । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मको बद्री चौहान र उमेश सुवेदी पनि कार्यकारी निर्माता हुन् ।

Facebook Comments Box