आज बाको मुख हेर्ने दिन अर्थात ‘फादर्स डे’
टुइटर र फेसबुकमा बाका फोटा रङ्गिएपछि
मैले पनि देखासिकी गर्नै पर्यो ।
गुगल सर्च गरेर खोजेँ,
तर बाको राम्रो फोटो भेट्नै सकिँन,
सम्झेँ, बासँग सानामा सँगै हिँडेकै हो
काखमा पनि बसेकै हो,
मुखबाट झिकेर पनि खाएकै हो
खेताला गोठाला गर्दा चल्नी हल्लिउन्जेल
मकै र गहूँ चपाएको मुख हेरेकै त हो नि
के नयाँ छ र हेर्नु बुढाको मुख ।
०००
हिजो,
हिजो बाको मनलाई छोराछोरी पढाउँन
र घर चलाउँन धौ धौ भइरह्यो,
हाम्रो मनलाई स्टाइघर घुमाउँन
र ठूटे राजनीति जोगाउँन चौ चौ भइरह्यो ।
बालाई बास, कपास, र गाईको घाँस वित्थ्यो
हामीलाई आस पास र दर्सनको माक्स वित्थ्यो ।
हिजो, बा सँगै बस् ! भन्दै छेक्थे, हामी भाग्थ्यौं
आज, बा भाग्दैछन, हामी छेक्दैछौं ।
हिजो, हामी केटाकेटी भएर बाको कुरै बुझेनौं
आज, बा बुढाबा भएर हाम्रो कुरै बुझ्दैनन् ।
हिजोसम्म बा धाकर बोकेर मधेश झरिरहन्थे
आज बा डकार बोकेर पहाड चढीरहन्छन् ।
हामी भनिरहन्छौं, अब सक्तैनौ बा मधेश झरन
बा भनिरहन्छन्, सक्छौ भने पहाड चढन ।।
बा ख्वाक्क गरेर बाहिर थुक्न खोज्छन्
हामी ख्यास्स गरेर भित्रै थुक्नु भन्छौं ।
बा जोरधाराको तर कलकल मनतातो पानी माग्छन्
हामी जारधाराको तर पलपल फ्रिजको चिसो पानी दिन्छौं । ।
बा सुनसान आकाशको निलो त्रिपालमुनी जीवन देख्छन्
खुल्ला चौर र हरिया डाँडा घुम्न रोज्छन् ।
हामी बन्द कोठामा एसीको चिसोले फकाउन खोज्छौं । ।
०००
हुन त बा र हाम्रो दैनिकी नै फरक छ,
हिजो, बा घुम ओडेर धान गोड्न मेला जान्थे
आज, हामी अत्तर ओडेर पीङ खेल्न मेला जान्छौं । ।
हिजो, हाम्रा खुट्टामा ठेस लाग्दा बा दुख्यो भनेर सुम्सम्याउँथे
आज बाले मनमा ठेस लाग्यो भन्दा हामी आफ्नै तिघ्रो सुम्सुम्याउँछौं । ।
हिजो, बा फर्सीका वीयाँ र डुकुका मुन्टा चपाउँथे
हामी बाका मुखमा रिसले हेरिरहन्थ्यौ ।
आज, हामी कुखुराको जाँते र खुट्टा चपाउँछौं
बा हाम्रा मुखमा रिसले हेरिरहन्छन् । ।
बा बासीभात घिनाउँछन्, दहीसँग मकै र चाम्रे खान्छन्
हामीलाई मोसरुमसँग फ्राई राइस र पपकन चाहिन्छ । ।
०००
बासँँग कुरै मिलेन रत हामी सँगै छौं र पनि बा एक्लै छन्
बालाई दाँतले छोडे, गीजा च्यातिए, मुख चाहुरियो
रपनि बा पहाडमै स्लीम छन्,
हामीसँग सहरीया खान्दानी भूँडी छ
यो भूँडी पहाड चढ्नै सक्दैन
अनि कसरी बाको मुख हेर्नु ?
त्यसैले
बाको पुरानो फोटो हेर्दै
फिस्स हाँसेको चित्र कोरेर बाकै छात्तीको रौं जस्तै घुमेका
अंग्रेजी अक्षरले बाले नबुझ्ने गरि लेखिरहेछु
‘ह्यापी फादर्स डे’ बा !!
विमल लामिछाने, झापा, दमक ।

Facebook Comments Box