३० फागुन, काठमाडौं / माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० फागुनमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् ।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका छन् ।

फागुन २६ गते सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र यस मामिलामा पटक–पटक व्याख्या भएको भन्दै पूर्ण सुनुवाइपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गरेको थियो । रिट सर्वोच्चले अन्तरिम आदेश जारी नगरे पनि रिटलाई अग्राधिकार दिएको छ ।

Facebook Comments Box