विमल लामिछाने

 नानी, स्कूलबाट अलि चाँडो आइज है, आज त रात नपार नि । घरमा अलि बेलैमा आउने गरेपो समयमा धन्दा छिनिन्छ, आमाको चिन्ता समयमै घरधन्दा छिन्ने छ ।

पहिलो पटक मजदुरीमा विदेशिन लागेको छोरालाई बिदाइ गरेजस्तै हरेक बिहान स्कुल जाने बेलामा आमा बिदाइ गर्नुहुन्थ्यो । आँखाले देख्ने ठाउँसम्म हेरिरहनुहुन्थ्यो । छोरो पाँच, छ घण्टापछि यही घरमा आउँछ भन्ने फिटिक्कै आमालाई लाग्दैनथ्यो । निकै टाढा जान लागेजस्तो बाटामुनीको गाउँ नकाटेसम्म हेरिरहनुहुन्थ्यो ।

बेलुका पनि पेटीमा बसेर जोरधारामाथि जापने कान्छाका रमिते ढुंगासम्म आँखा टट्याउन्जेल कतिबेला छोरो आउँछ भनेर हेरिरहनुभएकै हुन्थ्यो । अघिल्ला दिनका तुलनामा अलि छिटो आएपनि आँगनको पल्लो छेउमा आइनपुग्दै कति ढिलो गरेको ? आमा सोधीहाल्नु हुन्थ्यो ।

आमाका कुरामा केही प्रतिक्रिया नजनाइकन एकोहोरो सुनिरहन्थेँ मात्रै । मनमनै आमाको कुरालाई सही ठानेपनि आमालाई ढाडस दिँदै भन्थेँ के गर्नु आमा सरले घण्टी बजेपछिपनि पढाइरहनु भयो, अनि ढिला भइहाल्छ नि । अँ तेरोमात्रै पढाइ हुन्छ, उ धारापारीकाहरु अघि आए । लुङ्सुङदाङे, ठिङ्गेपुरे, खाम्बाङेहरु घरपुगिसके तेरोचाहिँ कसैले नपढेको स्कूल ।

लु छिटो खाजा खा, भित्र (समय अनुसारका स्कुस, तरुल, आलु,मकै, रोटी आदि) खाजा पकाएर राखेको छ । आमाको हातले पकाएको ज्जानोपानीमात्रै उमालेको झोल पनि कति मिठो लाग्थ्यो । साथीहरू गुड फ्राइडेको मुडमा हुन्थे । मलाई भने आमाको मुहारले घरमै तान्थ्यो । बेलुका आमासँग खाना खाइनँ भने उहाँले छोरो भोकै हुन्छ जस्तो सम्झिँनु हुन्थ्यो । म बाहिर खाएर आएँ भनेपनि तैँले नखाए म पनि खान्नँ भनेर आमा त्यतिकै सुत्नुहुन्थ्यो, कहिलेकाहीँ छिमेकमा या साथीकोमा खाएर आए पनि आमाको मन राखिदिन भाग बस्नैपथ्यो ।

नामको पछि इन्द्र जोडिएका (विरेन्द्र, सुरेन्द्र, बुद्धिन्द्र, दिपिन्द्र) मेरी आमाका चारभाइ छोरामध्येको साँईलो हुँ म । आमा नामको पछि एकर लगाएर बोलाउनु हुँदैन भन्नुहुन्थ्यो, र इन्द्र जोडेरै बोलाउनुहुन्थ्यो । हरेक शब्द, कर्म र परिकारमा आमाको ममता थियो । जुनसुकै परिकार पनि निकै मिठो लाग्थ्यो आमाले पकाएको । आमापनि आफैले पकाएको गाँस र साथमानै छोराछोरीलाई स्कुल र कलेज पढाएकोमा समकक्षी र छिमेकीसँग गर्व गर्दै खुशी साटेको देखदा हामीमात्र होइन, छिमेकीहरुपनि दंग पर्थे ।

हिजोआज,आमासँग मेरो कहिलेकाहीँ मतान्तर हुन्छ र दोहोरी चल्छ, तर म जहिल्यै हार्छु । कहिल्यै जित्न सक्तिनँ आमालाई । अनि आमा भन्नुहुन्छ– ‘मैले पढाउँदा तिरेका पैसा फिर्ता ले’….. । आमालाई सयपत्रीको थुँगो, गौरी र गुणरत्नमाला फरर आउँछ, म अक्मकिन्छु, अनि आमा भन्नुहुन्छ ‘मेरा पैसा फिर्ता ले’ । आमालाई स्वास्थानीको कथा कण्ठस्थ र विश्वस्त छ, मलाई अधुरो र काल्पनिक लाग्छ । आमा रातभर भएपनि संगीनीमा नाँच्न र दोहोरीमा गाँउन सक्नुहुन्छ, मलाई कम्मर मर्काउनै आउँदैन । आमा तोरीको तेलले निधार मालिस गर्नुहुन्छ र अनुहार चम्किलो छ, म एलोभेरा र सुगन्धित अत्तर रोज्छु, आमा अग्र्यानिक ढीँडो र साकाहारी भोजनमा रमाउँनुहुन्छ, मलाई चिकेनचिल्ली र रोष्ट चाहिन्छ, आमा आफ्नै उत्पादनमा रमाउ भन्नु हुन्छ, र नैतिक दृष्टान्त सिकाउनु हुन्छ, मलाई विदेशी र्याप मनपर्छ, अनि आमा फेरि भन्नुहुन्छ ‘मेरा पैसा फिर्ता ले’ ।

आमा र मेरो प्रेमिल संवाद जहिलेपनि गणितमा पुगेर भाँडिन्छ । गणितमा म आमाको हुन कहिल्यै सकिँन । आमा भन्नुहुन्छ – ‘तँलाई पढाउँन मैले बोकेका मलका भारी र फोरेका बारीका डल्ला गन्नुपरे तेरो क्याल्कुलेटरको अंकले भ्याउला ? तेरो स्कूलको फि तिर्न मैले गाँस काटेर बेचेको कोदो र चामलका दाना गन्र्नुपरे कति दिनमा हिसाव निकाल्छस् ? स्कुलमा नाम लेखाएको पैसा तिर्न तेरा बाले छिमेकी साहूका घर र गोठ छाउँदा औंलामा बाताले घोचेका डाम र खिल गन्र्नुपरे केको साहरा लेलास ? अँ हँ सक्दैनस् नानी हिसाव गर्नुपर्दैन’ । म आमाको अघि फिक्का हुन्छु । त्यही भएर मेरो नाता आमाको गणितसँग बलियो हुनपनि सकेन । किनभने म आमाको हिसाव तिर्नै सक्दिँन ।

महँगो छ आमाको हिसाव । आमा हाम्रो उमेरको अन्तर कति वर्ष छ भनेर सोध्दा औला भाँचेरै फ्याट भन्नुहुन्छ, मलाई क्याल्कुलेटर चाहिन्छ । आमालाई परिवारभित्र नाती, नातिनी र पनातीमात्रै नभएर आफन्तजतिको जन्मदिन कण्ठस्त छ, मैले फेसबुक हेर्नैपर्छ । आमालाई कुन कुन सालमा ठूलो पानी पर्यो, पहिरो चल्यो, कहिले भूकम्प आयो सबै थाहा छ, मैले कि मापन केन्द्रलाई सोध्नैपर्छ, कि गुगल सर्च गर्नैपर्छ । आमा कोरी, तोला र मानाको हिसाव ठ्क्कै निकाल्नु हुन्छ, मलाई केजी मात्रै आउँछ, म भन्छु मानौ ए बराबर …….। आमा भन्नुहुन्छ मानो आठ बरावर पाथी । म फेरि हार्छु । अनि आमा भन्नु हुन्छ– … ‘मेरा पैसा फिर्ता ले’ ।

हुन त मलाई गणित सुरुदेखि नै मन परेको थिएन । गणितको कमजोर विद्यार्थी, म हिसाव हत्तपत्ती बुझ्दिन थिएँ । तर हिसाव बुझ्नैपर्छ भनेर साथीहरु मलाई कर गर्थे । मन अलमल थियो । कतिले विस्तारै बुझिहाल्छौ नि भने । कतिले ‘नबुझे पनि जिन्दगी चलिहाल्छ नि पनि भने । मैले कोसिस गरिहेरेँ । तर, हिसाव र पिसाव उस्तै रहेछ, नआउन्जेल आएहुन्थ्यो भन्ने, साहु बनेर हिसाव आएपछि थाम्नै गाह्रो । अहिलेका बैंकरलाई जस्तै । पछिल्लो समय बैंकहरुपनि हिसाव नजानेर टाट पल्टिदैछन् रे, मेरी आमाका अगाडीको म जस्तै । अझैपनि म त्रसित छु हिसावसँग । भागेको भाग्यै छु, सकेसम्म पाँचकोश जति परै रहन चाहन्छु । तर हिसाव भने बारम्बार मेरो अघिपछि लागेर आर्थिक कारोबारहरूको खोजीनिती गर्दै साँझ विहान हरेक समय आइरहेछ ।

हिसावमा हारेपछि मेरो पराजित हरियो मुहार देखेर आमा मलाई फेरि सम्झाउनु हुन्छ – ‘साहित्यमा विश्व अडेको हुन्छ । साहित्यका सामु सूर्यपनि निष्तेज हुन्छ । साहित्यले बुद्धि बढाउँछ । साहित्य सार्थक जिवनको दिप पनि हो । हिसाव नजानेपनि साहित्यचाहिँ विर्सन मिल्दैन है’ ।

आमा मलाई कथाहरू सुनाउँनु हुन्छ, मेरा लागि आमा उपदेशमुलक किताव नै हो । आमाका अथक प्रयासले आजकल मलाई अक्षरमा बग्न अंकसँग बग्नुभन्दा धेरै सजिलो लाग्न थालेको छ । मलाई जोड सिक्न खासै सकस परेन, घटाउ कताकता अप्ठ्यारै लाग्यो । आमा साहित्य जोडेरै सम्झाउनुहुन्छ । जीवनमा पनि साथीसँगी जोडिँदा कहाँ सकस पर्छ र ? गाह्रो हुने त घटाउनु पर्दा हो । प्रेममा पनि भावना जोडिँदा कति मज्जा आउँछ तर छुटिँन कति गाह्रो ? साहित्य रुचाउनेले कपीमा अंक र अक्षर भर्नमात्रै जानेर हुँदैन, मनमा प्रेम भर्न सक्नुपर्छ अनिमात्रै साहित्य फुर्छ । साथीभाइ राख्न सकिन्छ ।

म मुसुक्क हाँस्दै भन्छु –आमाका साहित्यमा गणित जस्तो जटिलता पनि रहेनछ नि । यस्तो मायाँ र प्रेमको हिसाव त मलाई निकै आउँछ नि आमा, तेसै मैले प्रेम विवाह गरेको हो त ? ढाडस दिँदै अझै थपेँ– हाम्रा बुबा र हजुरबाहरुपनि कति बाठा, जोड्न असाध्यै जान्ने । त्यही भएरपो रहेछ मेरी आमाको नामपनि मायाँ र प्रेमलाई जोडेर प्यारीमायाँ राखेका होलान है । अहिले आएर थाहा भयो असलमा आमाको साहित्यिक नाम पो रहेछ प्रेम अर्थात मायाँ ।
आमा जुरुक्क उठेर फेरि भन्नुभयो – ए यतिवेरमा त्यही पो बुझिस्,… मैले पढाउँदा तिरेका पैसा फिर्ता ले’….. । …‘मेरा पैसा फिर्ता ले’ ।

  000

Facebook Comments Box