दमक/ कोशी प्रदेशको नामाकंन खारेज गर्दै पहिचानसहितको पुनः नामाकन गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आज विभिन्न स्थानीय तहमा तोडफोड र जनप्रतिनिधिमाथि कुटपिट गरेका छन ।
आन्दोलनकारीहरुले उर्लाबारीको ६ नम्बर वडा कार्यालयमा पुगेर वडाध्यक्ष चिन्तामणी पौडेलमाथि कुटपिट गरेका हुन । स्थानीय तह (पालिका र वडा कार्यालय) हरुमा तालाबन्दी गर्ने आन्दोलनकारीको पुर्वघोषित कार्यक्रम विपरित जनप्रतिनिधिमाथि कुटपिटको घटना भएपछि आन्दोलनको आलोचना शुरु भएको छ भने वडाध्यक्ष पौडेलमाथि कुटपिट गर्ने पथरीशनिश्चरेका मनोज लिम्बु विरुद्ध प्रहरीमा उजुरी परेको छ । लिम्बुसहितको समुहले वडाध्यक्ष पौडेलमाथि कुटपिट गरेको थियो ।
त्यसैगरी दमक नगरपालिका कार्यालयमा शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै प्रवेश गरेको आन्दोलनकारी समुहले नगरपालिका कार्यालयमा तोडफोड गरेको छ । तोडफोडका कारण कार्यालयका सिसाहरु फुटेका छन भने जनप्रतिनिधि र कर्मचारीहरु काम गर्न सुरक्षाको वातावरण नभएको भन्दै कार्यालयबाट बाहिरिएका छन । कर्मचारीहरु कार्यकक्षमा नभेटिँदा सर्वसाधारणको कामकाज ठप्प भएको नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञ निरौलाले बताए । आन्दोलनरत समुहको नेतृत्व गर्दै आएका जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राईले दमक नगरपालिका र पालिका अन्तर्गका वडा कार्यालयहरुमा समेत पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसारनै तालाबन्दी गरिएको जनाएका छन । उनले प्रदेशको नामाकंन पहिचानसहित नगरिएसम्म आन्दोलनको रफतार बढदै जाने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्य पक्ष र यहाँका जिम्मेवार राजनीतिक दलहरुले लिनु पर्ने चेतावनी दिएका छन ।

Facebook Comments Box