विराटनगर / प्रदेश सरकारले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दश जना खेलाडीलाई बुधबार पुरस्कृत गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

सरकारले क्रिकेट तर्फ विश्वकप क्वालिफायर लिग टु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएका मोरङ विराटनगर १४ का खेलाडी ललित राजवंशीलाई १ लाख ११ हजार १११ रुपैयाँ राशि पुरस्कारसहित सम्मान गरेको छ । यस्तै विश्वकप यू–१९ मा छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दीपेश कँडेललाई पनि १ लाख ११ हजार १११ रुपैयाँ राशिसहित सम्मान गरिएको छ ।

प्रदेश सरकारले एथलेटिक्स तर्फ अल्ट्रा दौड तर्फ विश्व प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल प्रिया राईलाई एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । अन्तराष्ट्रिय प्रतियोगिता मुवाँथाईमा रजत र कास्य पदक जित्न सफल सञ्जय राई र डेनिका राईलाई क्रमश ३० र २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ ।

यस्तै कार्यक्रममा एथलेटिक्स तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरु पूजा चौधरी, रंजु चौधरी, अंशु मण्डल र निमा जिसीलाई पाँच हजार रुपैयाँ तथा स्वर्ण पदक जित्नुहुने सागर यादवलाई १५ हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिएको थियो ।

खेलाडी सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदैव तत्पर रहने भन्दै खेलाडीहरुले उच्च मनोवलका साथ खेलेर प्रदेश र देशको प्रतिष्ठा बढाउन प्रोत्साहित गरे । कार्यक्रमलाई सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले पनि सम्बोधन गरे ।

Facebook Comments Box