कमल/ नेकपा एमालेले देशव्यापी अभियान अन्तर्गत झापाको कमल गाउँपालिकामा सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको समापनका क्रममा सो पालिकामा भूमिगतकालका सेल्टरदाता, सहिद परिवार तथा पूणर्कालिन कार्यकर्ताहरु गरी ९६ जनालाई सम्मान गरेको छ ।
एमाले गाउँ कमिटीका अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले अभियानका क्रममा सञ्चालनका भएका विभिन्न गतिविधि समेटिएको प्रतिवेदन समेत पेश गरेका थिए । अभियानका लागि पार्टी केन्द्रीय कमिटीबाट खटिनुभएकी पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य ईन्दू गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका सात वटै वडामा रहेका सेल्टरदाता, सहिद परिवार तथा पूणर्कालिन कार्यकर्ताहरुलाई सम्मान गरिएकोे पाटी गाउँ कमिटी सचिव हरि ढकालले जानकारी गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा पार्टी गाउँ कमिटी उपाध्यक्ष पृथ्वीपति राईले अभियानले पार्टीमा नयाँ आशा र जागरणको सञ्चार गराएको बताए । कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, गाउँ कमिटीका सदस्य तथा पदाधिकारी एवम् विभिन्न नेताहरुको उपस्थिति रहेको थियो । त्यसक्रममा मिशन ग्रासरुट अभियानका अभियन्ताहरुलाई पनि सम्मान गरिएको थियो ।
अभियानका क्रममा प्रत्येक वडा तथा टोलसम्म पुगेर पार्टीलाई थप गतिशिल बनाउन विभिन्न कार्यक्रमहरु गरिएको अभियानका लागि खटिएका प्रदेश कमिटी सदस्य डम्बर अधिकारीले जानकारी गराए । अभियानका क्रममा विभिन्न वडाहरुमा समेत अग्रजहरुलाई सम्मान, पार्टी एवम् जनवर्गीय संगठनका अधिवेशन, नयाँ नेतृत्व चयन, विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश लगायतका कार्यक्रमहरु भएको एमालेले जनाएको छ ।

 

Facebook Comments Box