विर्तामोड/ झापाको विर्तामोडमा सञ्चालित ‘बडी ग्यारेज’ को आयोजनामा आगामी जेठमा कोशी प्रदेश स्तरीय दोस्रो मिस्टर कञ्चानजंघा बडी बिल्डीङ प्रतियोगिता हुने भएको छ । राजधानी काठमाडांै बाहिर हुने प्रतियोगितामा सबैभन्दा बढी धन राशीको पुरस्कार रहने यो प्रतियोगिताको तयारी थालिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक राम दाहालले जानकारी दिए । प्रत्येक तौल समूहमा प्रथम हुने एकजना खेलाडी फाइनल प्रतिष्पर्धाका लागि छनौट हुने छन् । दोस्रो चरणमा गरिने प्रतिष्पर्धाबाट यस वर्षको मिस्टर कञ्चनजंघा छनौट हुने दाहालले बताए । फाइनल प्रतिष्पर्धामा प्रथम हुने खेलाडीले ३ लाख ११ हजार १११ रुपैंयाँ, ट्रफी र मेडल पाउने छ । दोस्रोलाई २ लाख ५० हजार रुपैंयाँ, तेस्रोलाई १ लाख ५० हजार रुपैयाँ, चौथोलाई १ लाख, पाँचौ हुनेलाई हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए । समूहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार दिइने मैनालीले बताए ।
आयोजकले विधागत रुपमा दिने पुरस्कारमा मात्र ९ लाख ६१ हजार रुपैंयाँ खर्च हुने बताएको छ । यस्तै प्रतियोगिता सम्पन्न गर्न २४ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ । यसपटकदेखि प्रतियोगितामा सहभागी हुन आउने खेलाडी र अफिसियललाई यातायात र होटलको खर्च उपलब्ध गराउने निणर्य गरिएको संयोजक दाहालले बताए ।
विभागीय टिमसहित झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । यो बाहेक कोशी प्रदेशका अन्य जिल्लाका खेलाडीले पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष मैनालीले जनाए । आगामी जेठ १२ गते प्रि जजिङ र १३ गते फाइनल प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा १ सय जना खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ ।

Facebook Comments Box