दमक/ झापाको दमक-५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३३ पिन्ट रगत संकलन भएको प्राविधिक सहयोगी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहालले जानकारी गराए । संस्थाको कार्यालय परिसरमा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा संस्थाका सञ्चालक समिति, कर्मचारी र अन्य इच्छुक रक्तदाताहरु गरी ३३ जनाले रगतदान गरेका छन् ।
रक्तदान गर्नेमा कर्मचारीहरु रामकुमार प्रधान, कुवेर ढुंगेल, मिना डोल्मा तामाङ, सुमिरा श्रेष्ठ, सञ्जु घिमिरे, विपना मगर, मिलन गजमेर, राजन प्रसाद दाहाल लगायत रहेका छन् । रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा व्यववस्थापक धर्मानन्द भट्टराईले संस्थाको वित्तीय कारोबारको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले संस्थाले हाल ५३ करोड रुपैयाँ ऋण लगानी गरेको र ४७ करोड रुपैयाँ निक्षेप रहेको साथै संस्था ८ करोड नाफामा रहेको जानकारी गराए ।
सो अवसरमा प्रमुख अतिथि न्यौपानेले अहिले देशैभर सहकारी अभियानलाई असफल बनाउने गलत उद्देश्यले प्रहार भइरहेको बताउँदै संकटका समयमा संस्थाका सदस्य, सञ्चालक समिति र कर्मचारीहरु समेतको सहकार्य र समन्वयको खाँचो औंल्याए । उनले सहकारी संस्थाको सञ्चालक समिति संस्थाप्रति सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने र अप्ठ्यारो परिस्थितिमा सबैको सामूहिक प्रयत्नबाट समाधान खोजिनुपर्ने पनि बताए । रक्तदान उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका सो सहकारीका अध्यक्ष दिपक खरेलले विश्वव्यापी रुपमै आर्थिक मन्दी छाएका बेला द एभरेष्ट सहकारीले शेयर सदस्यहरुको हितमा कार्य गरिरहेको र विद्यमान चुनौतीको सामाना गर्न व्यवस्थित ढंगले लागी परेको प्रष्ट पारे । वार्षिकोत्सवमा संस्थाका सञ्चालक समितिका सदस्य, उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

Facebook Comments Box