दमक/ झापाको दमक-९ स्थित शुभमंगल वचत तथा ऋण सहकारी संस्थाले स्थानीय टोल विकास संस्थाहरुलाई गमला बाँडेर १४ औं वार्षिकोत्सव मनाएको छ । दमकको चिया दोकानस्थित सो सहकारीको कार्यालयमा शनिबार आयोजित कार्यक्रममा स्थानीय पशुपति टोल विकास संस्थाका अध्यक्ष पर्शुराम रिजाल, चेतनशिल टोल विकास संस्थाका अध्यक्ष इन्द्र कुमार श्रेष्ठ र चरकपाडा टोल विकास संस्थाका अध्यक्ष कृष्ण धिमाललाई वृक्षारोपणका लागि प्रमुख अतिथि दमक-९ का वडाध्यक्ष कुवेर भट्टराईले गमला वितरण गरे । कार्यक्रमको उद्घाटन भने वडाध्यक्ष भट्टराईले कार्यक्रमको व्यानर वाचन गर्नुका साथै गमलामा वृक्षारोपण गरी गरेका थिए ।
वडाध्यक्ष भट्टराईले कार्यक्रम उद्घाटन पछि शुभकामना मन्तव्य गर्दै अहिलेको विश्वव्यापी मन्दी र सहकारीका विषयमा अनेकन भ्रम साथै कुराहरु फैलिरहेका बेला शुभमंगलले आफ्नो कारोबारलाई सही ढंगले व्यवस्थित गरेको छ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रमको अध्यक्षता गरेको सो सहकारीका अध्यक्ष उमाकान्त आचार्यले संस्थाले शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए । उनले कतिपय सहकारी संस्थाहरुमा शेयर सदस्यहरुको पैसा डुबिरहेका बेला शुभमंगलमा भने ढुक्क भएर कारोबार गर्न सम्बन्धित सबैलाई आग्रह गरे । कार्यक्रममा दमक-९ का पूर्ववडाध्यक्ष रामबहादुर धिमाल, स्वणर्लक्ष्मी साकोसका अध्यक्ष विमल बराल, सेतुमारी कृषि सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ, समता कृषि सहकारी संस्थाका अध्यक्ष शान्तिराम भट्टराई,सामाजिक व्यक्तित्व पुण्य सिंखडा, पूर्वसन्देश दैनिकका अतिथि सम्पादक पंकज दाहाल लगायतका अतिथिहरु रहेका थिए । कार्यक्रममा स्थानीय टोललाई हरियाली र सौन्दर्यकरण गर्न वृक्षारोपणका लागि ३० वटा गमला वितरण गरिएको कार्यक्रमका संचालक सो सहकारीका पूर्वसचिव सिताराम निरौलाले जानकारी गराए ।

Facebook Comments Box